वानएक्स बेट, बाइनान्स, एडीभी क्याश, क्वाइनबेस र प्याक्सफुल प्रयोग गरी विदेशी मुद्राको कारोबार गर्ने दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ का पुष्कर श्रेष्ठ र बिनिता लिम्बू विरुद्ध करिब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलनको मुद्दा चलाएको हो ।

सोमबार काठमाडौं जिल्ला अदालतमा दायर भएको उक्त मुद्दामा विभिन्न बैंक स्टेटमेन्ट, बरामद गरिएका मोबाइल तथा प्राप्त डेटा र कल डिटेल आदिलाई प्रमाणको रुपमा पेश गरिएको छ । दुवै जना विरुद्ध सामूहिक रुपमा मिलेमतोमा वनएक्स बेट, बाइनान्स, एडीभी क्याश, कोइनबेस, प्याक्सफुल जस्ता मोबाइल एप प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर गरेको आरोप छ ।

त्यसै आधारमा विभागले अनलाइनमार्फत अमेरिकी डलरको अवैध कारोबार गरेको भन्दै मुद्दा दायर गरेको हो । विभागका अनुसार श्रेष्ठले मेगा, सिटिजन्स, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबाट गरी कूल सात करोड ५७ लाख ७२ हजार रुपैयाँ र लिम्बुले एनआईसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार रुपैयाँ अपचलन गरेका छन् ।

दुवै जना विरुद्ध यसरी अपचलन गरिएको कूल नौ करोड ७४ लाख ७० हजार रुपैयाँ बिगो जफत गरी तीन वर्ष कैद सजायको माग गरिएको छ ।

https://unelma.io/2PhgO