आजको जमानामा इन्टरनेटको प्रयोग सामान्य बनिसकेको छ । पछिल्लो समय विकास भएका वाई-फाई प्रविधिसँगै हामी डिजिटल संसारमा आफ्नो दैनिकी अघि बढाउँदै छौं ।

वाई-फाईले हाम्रो जीवन परिवर्तत त गरिदिएको छ, सँगसँगै नकारात्मक असर पनि गरिरहेको छ कि ? आज हामी यही विषयमा छोटकरीमा चर्चा गर्दैछौं ।

कतिपय अवस्थामा वाई-फाई स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने विषय तपाईं हामीले सुन्दै आएका हुन्छौं । वाई-फाईले धेरै रेडियसन फाल्ने भएकाले स्वास्थ्यमा हानी पुग्छ भन्ने तर्क सुनिन्छ ।

यसकाे असर साँच्चै हुन्छ वा हुँदैन होला त ? हुन्छ भने कस्ताे खालका समस्या हुन्छ त ?

वास्तवमा वाई-फाईले स्वास्थ्यमा कहाँ कसरी समस्या पार्छ भन्ने विषय यसको व्याण्डबाट सुरु हुन्छ । त्यसमा सबैभन्दा पहिलो छ २.४ गिगाहर्ज, अर्को छ ५ गिगाहर्ज । अब यसमा जहाँ गल्ती छ, त्यो २.४ वा ५ मा हैन । यहाँ गल्ती त गिगाहर्जमा छ ।

यसमा अन्य कुनै कुराले भन्दा पनि मानिसलाई गिगाहर्ज शब्दले बढी चिन्ता दिइरहेको हुन्छ । कोही मान्छे तपाईंको घरमा आएर यति सानो कोठामा यति धेरै गिगाहर्जको रेडियसन छ, त्यो त गलत हो भन्नेर हामीलाई अझ बढी चिन्ता थपिदिएका हुन सक्छन् ।

यस्तो अवस्थामा हामीले बुझ्नपर्ने कुरा भनेको रेडियसनको कुरा हो । कस्तो रेडियसनले के असर गर्छ भन्ने बुझ्नु निकै आवश्यक हुन्छ । हामी कसैले भनिदिएकै भरमा यसले असर गर्छ भनेर पीर मानेर बसिरहेका हुन्छौं । यो रेडियसनको इनर्जीकै कुरा गर्ने हो भने सबैभन्दा पहिले हामी हाम्रो पृथ्वीमा आउने घामको रेडियसनको कुरा गरौँ ।

पृथ्वीको सतहमा आउने घामको रेडियसन मेगाहर्ज, गिगाहर्ज होइन, टेराहर्जभन्दा पनि बढी हुन्छ । हामी अब पृथ्वीको सतहमा आएको घामको रेडियसनलाई लिएर चिन्तित भएर भो त ? त्यो कैयौँ गुणा बढी फ्रिक्वेन्सीको हुन्छ ।

हामीलाई असर गर्ने भनेको अल्ट्राभ्वाइलेट वा त्योभन्दा बढी फ्रिक्वेन्सी भएका रेडियसनले हो । यदि हाम्रै वरपर भएको घामको किरणबाट आउने विभिन्न टेराहर्जभन्दा बढी रेडियसनबाट केही चिन्ता छैन भने वाई-फाईबाट आउने सामान्य रेडियसनले असर गर्छ भन्नु अस्वभाविक हो ।

कतिपय अवस्थामा कुनै अपरेटरले हाई फ्रिक्वेन्सीको रेडियसन छाडिरहेका हुन्छन् । त्यसले भने स्वास्थमा असर गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा भने नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सीका विषमा नियमित नियमन गरिरहेको हुन्छ ।

‘हामी हाम्रो समय तालिका अनुसार विभिन्न अपरेटरहरूले दिइरहेको रेडियसनको मापन गरिरहेका हुन्छौं । यसको रेडियसन २.४ गिगाहर्जदेखि ५ गिगाहर्जसम्म हुन्छ । त्यो वा त्यसबीचको रेडियसनले हाम्रो स्वास्थमा कुनै प्रकारको असर गर्दैन । यसलाई अन्तर्राष्ट्रिय दूरसञ्चार र विश्व स्वास्थ संगठनले पनि प्रमाणित गरेका छन् । त्यसैले हामी वाई-फाईको रेडियसनको कुरालाई लिएर डराउन पर्दैन,’ प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले भने ।

वास्तवमा वाई-फाईभन्दा पनि कम रेडियसन भएको माइक्रोवेभ ओभन छ । त्यस्ताे ओभनमा खाना बनाउँदा त्यसको रेडियसनले पाकेको खाना हानिकारक होला भन्ने बुझाइ पनि हुनसक्छ ।

एउटा कुरामा के प्रष्ट हुनुस् भने रेडियसन कम हुनुले त झन् असर गर्ने कुरै हुँदैन । हामीले सुनिरहेका एक्सरेज, गामा रेज, अल्फा रेज यीबाट आउने रेडियसनले हाम्रो छालाका कोषिकाहरूलाई खराब बनाइरहेका हुन्छन् । त्यसका लागि तत्काललाई डराउनु पर्दैन । तर हामीले गरिरहेकाे प्रदूषणले दिनानुदिन ओजन लेयर पातलो हुँदै गइरहेको छ ।

भोलिका दिनमा सूर्यबाट सोझै अल्ट्रा भ्वाइलेट रेडियसन नआउला भन्न सकिँदैन । यसमा हामी वाई-फाईको रेडियसनको कुरा गरिरहेका छौँ । सामान्य मेगाहर्ज, किलोहर्ज, गिगाहर्ज। टेराहर्जको रेडियसनले हाम्रो स्वास्थलाई केही असर पार्दैन ।

वाई-फाईको रेडियसन २.४ वा ५ गिगाहर्जसम्म हुने भएकाले हामी ढुक्क भएर वाई-फाई चलाउन सक्छौं । त्यस्तै वाई-फाईको एन्टेनालाई लिएर जुन प्रश्न आइरहेको हुन्छ, त्यो पनि निकै सानो पावरको हुन्छ । त्यसको पावर ०.१ वाटभन्दा थोरै हुन्छ ।

जब हामीले प्रयोग गरिरहने १०० वाट भन्दा बढीको बल्बले केही असर गर्दैन भने ०.१ वाटभन्दा कम पावर भएको वाई-फाईको एन्टेनाले के असर गर्ला र ?

त्यसैले हामी वाई-फाईलाई लिएर कुनै कुरामा डराउनुपर्दैन । रातभर वाई-फाई अन राख्दा पनि त्यसले विद्युत निकै कम खपत गर्छ । अलिकति भए पनि विद्युत खर्च कम होस् भन्ने चाहना छ भने राति सुत्नुअघि वाई-फाई अफ गरेर सुत्न सक्नुहुन्छ ।

त्यस्तै वाई-फाई रातभर अनमै राख्दा तपाईंको फोन, ट्याब्लेट वा पीसीमा भने स्वतः हुने क्लाउड-बेस्ड ब्याकअपमा बाधा आउन सक्छ ।

तर, तपाईंले अटो ब्याकअप हुने क्लाउड डिसेबल गर्नुभएको छ भने त्यसमा पनि डर मान्न पर्दैन । तपाईं निर्धक्कका साथ दिनरात वाई-फाई अनमा राख्न सक्नुहुन्छ । 

https://unelma.io/Z2qeW