सिन्धुली — सिन्धुली प्रहरीले ठूलो परिमाणमा अवैध गोलिया काठ निकासी हुन लागेको अवस्थामा बरामद गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका–१ वाग्मती नदीको किनारमा घाटगद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएको काठमा साल जातको १८० थान गोलियाको १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलियाको ७९१ क्यूफिट रहेको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले अवैध काठ बरामद गरी आवश्यक कारबाहीका लागि मरिण वन डिभिजन सिन्धुलीलाई बुझाएको सिन्धुली प्रहरी प्रमुख एसपी विमलराज कडेलले जानकारी दिए । अवैध निकासीको लागि दुई वटा ठूलो ट्रकमा एक्सकाभेटर लगाएर लोड हुँदै गरेका गोलिया काठको बजार मूल्य एक करोडभन्दा बढी हुन्छ ।

https://unelma.io/3HLr3