काठमाडौं :  नेपाल भ्रमण रहेको अमेरिकी सांसदको टोली प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका छन्। सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा चार सिनेटरहितको उच्चस्तरीय संसदीय टोलीले शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेटेका हुन्। 

भेटका क्रममा नेपाल र अमेरिकी सम्बन्ध, जलवायुका मुद्दा, बहुआयामिक साझेदारी लगायतका विषयमा छलफल भएको छ। भेटपछि प्रधानमन्त्री देउवाले ट्वीट गर्दै अमेरिकी सांसद्लाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुसी भएको जनाएका छन् । भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसमेत सहभागी थिए।

सोहि टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा द्वीपक्षीय सम्बन्ध, आर्थिक सहायता लगायतको विषयमा छलफल भएको थियो। 

भ्रमण टोलीमा शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स रहेका छन्। उनीहरू पोल्यान्ड, युएई, जर्मनी र भारतको ९ दिने भ्रमण सकेर शुक्रबार नेपाल आइपुगेका हुन्। उनीहरु आइतबार फर्कनेछन् ।