काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताए ।

उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भने ।

काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताए ।
मेयर निर्वाचित भएमा एक दिन मात्र खुशी मनाउने भन्दै स्थापितले त्यसपछि लगातार काम गर्ने बताए । उनले आफू निर्वाचित भएमा नेपाली कांग्रेससँग पनि आफूले गर्नुपर्ने कामको सूचि माग गर्ने र सबै माग पूरा गरिदिने जिकिर गरे ।
https://unelma.io/HMEnF