नाइकी ब्राण्डले हालै नयाँ जुत्ता सार्वजनिक गरेको छ । लगाउन आरामदायी हुनुका साथै एपबाटै नियन्त्रण गर्न सकिनेगरी याे जुत्ता बनाएकाे कम्पनीले बताएको छ ।

याे जुत्ताकाे नाम हाे, एडाप्ट बीबी (Adapt BB) । अन्तर्राष्ट्रिय बजारमा चार सय डलरकाे हारहारी मूल्य पर्ने याे जुत्ता ब्लुटुथकाे माध्यमबाट फोनको एपमा कनेक्ट गरी आफू अनुकूल चलाउन सकिन्छ ।

यसलाई चार्ज गर्न केही हप्तामा एकपटक वायरलेस म्याटमा राख्नुपर्ने हुन्छ । कम्पनीका अनुसार यो एक प्रकारको बास्केटबल जुत्ता हो, जसको तुनालाई आफ्नो आवश्यकता अनुसार स्वतः बाँध्न, खोल्न वा खुकुलाे गराउन सकिन्छ ।

तपाईंले जुत्तामा खुट्टा हाल्नासाथै त्यसले तपाईंको खुट्टालाई उपयुक्त हुने तरिकाले टाइट गर्ने कम्पनीकाे दावी छ । कम्पनीले बताएअनुसार यो जुत्ता बनाउने क्रममा बास्केटबल खेलाडीलाई ध्यानमा राखी बनाइएको हो ।

त्यस्तै यदि तपाईं खेल्दै गर्दा तपाईंको खुट्टा सुनियो भने जुत्ताले सुनिएको महसुस गरेर त्यही अनुसार समायोजन गर्छ । यदि तपाईंले जुत्ता लगाई कतै हिँडेर जानुभयो भने यसले शरीरकाे ब्लड प्रेसर मापन गरी स्वतः एडज्स्ट पनि गरिदिन्छ ।

यसको अर्थ यसमा आवश्यकता अनुसार जुत्ता स्वतः टाइट वा लुज हुन्छ । यसले गर्दा तपाईंलाई बेला बेलामा जुत्ता साँघुरो वा ढिला गराउन आवश्यक पर्दैन । त्यस्तै आफ्ना हरेक आवश्यकता अनुसार यसलाई सहजै एपबाट नियन्त्रण गर्न सकिन्छ ।

एडाप्ट बीबी एउटा यस्तो जुत्ता हो, जसलाई कम्पनीले हरेक कुरालाई ध्यानमा राखेर बनाएको छ । यसअघि पनि नाइकीले नाइकी+आईपोड (Nike+ipod) र नाइकी+ट्रेनिङ (Nike+Training) लन्च गरेको थियो ।

ती जुत्तालाई मानिसहरूले खुबै रुचाएपछि कम्पनीले थप फिचरहरू सहित यो जुत्ता निर्माण गरेको हो । जुन सकारात्मक प्रतिक्रिया पहिले सार्वजनिक गरेका जुत्ताबाट आएको थियो, यसबाट पनि उत्तिकै सकारात्मक प्रतिक्रिया आउने कम्पनीले अपेक्षा गरेको छ ।
https://unelma.io/F0VMu