काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिँदा त्यस वापतको रकम भुक्तानी गर्नका लागि भने कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता देखिएको छ । अनलाइन भुक्तानी सुविधा नहुँदा सेवाग्राहीले यस्तो झन्झट ब्यहोर्नु परेको हो ।

 

सोमबारदेखि खुलेको सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन दिँदा भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने बताइएको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ ।

 

“गभर्मेन्ट पे मार्फत अनलाइन भुक्तानी गर्दा विभागको ईडीएल प्रणालीमा तथ्याङ्क पठाउन प्राविधिक तयारी भइरहेको छ र यस किसिमको प्रणालीबाट अनलाइन भुक्तानी गर्ने व्यवस्थाका लागि महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी कार्यन्वयनको प्रकृयामा अगाडि बढेको छ,” सूचनामा भनिएको छ ।

 

सूचना अनुसार सेवाग्राहीले अनलाइन आवेदन फाराम भरिसकेपछि अनलाइन भुक्तानी नगरी भौचर डाउनलोड गरी सम्बन्धित कार्यालयमै गएर शुल्क भुक्तानी गर्नुपर्नेछ । साथै सेवाग्राहीहरूको चाप बढी भएका कारण सर्भर डाउन हुने समस्यालाई पनि चाँडै नै समाधान गरिने भन्दै विभागले सेवाग्राहीलाई धैर्य गर्न पनि अनुरोध गरेको छ ।  

https://unelma.io/0CUr1