काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रोपात्रोले सात महिनाआघि मात्र यो सुविधा ल्याएको थियो ।

 

हाम्रोपात्रोले छ महिनाअघि मात्र एक करोडको रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा १० करोडको रेमिट्यान्स भित्रिएको छ ।

 

यो अवसरमा हाम्रो पात्रो इंकका संस्थापक/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने, ‘म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्तालाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो ।’

 

त्यसैगरी ‘इन्स्ट्यान्ट ट्रान्सफर’ सुविधा चाँडै आउने उप्रेतीले जनाए । यसअन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ ।

 

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ, जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक एक हजार डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन् । हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ-नयाँ रेकर्ड कायम गर्दै गएको छ ।

 

यसअघि १० लाख र ५० लाख हुँदै एक करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । हालै, एपले दैनिक १७ लाख र मासिक एक करोड १० लाख सक्रिय प्रयोगकर्ता भएको कोशेढुङ्गा पार गरेको छ ।

हाम्रोपात्रोले गत वर्ष नै प्ले स्टोरमा एक करोड डाउनलोड कोशेढुंगा पार गरेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

प्रयोगकर्ताले हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड एपसँगै वेबसाइटबाट समेत रेमिट्यान्स पठाउने सुविधा प्रयोग गर्न सक्नेछन् ।

https://unelma.io/3Nxr2