काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमा नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने घोषणा गरेको छ । संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस किसिमका उद्योगका लागि आवश्यक कच्चा पदार्थ वा पार्टपुर्जामा भन्सार महसुल एक प्रतिशतमात्र लाग्ने घोषणा गरेका छन् ।

 

सँगसँगै सरकारले १०० किलो वाट आवर क्षमता माथिका सवारीमा भन्सार दर बढाएको छ भने ३० प्रतिशत अन्तःशुल्क पनि लिने भएको छ । साथै चार पाङ्ग्रे सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई आयकरमा ४० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।

 

सरकारको याे निर्णयबाट विद्युतीय सवारी साधनको आयात निरुत्साहित गरी स्वदेशमै उत्पादन गर्ने कार्यलाई बढावा दिन खोजेको जस्तो देखिन्छ । तर सरकारको यो नीतिले नेपालमा आयात हुने विद्युतीय सवारी साधनको आयात र बिक्रीमा भने नकारात्मक असर पुर्‍याउने आँकलन गरिएको छ । 

 

हाल नेपाली बजारमा एमजी, बीवाईडी, निसान, हुन्डाई लगायत १५ भन्दा बढी ब्रान्डका विद्युतीय कारहरू गुडिरहेका छन् । तर सरकारको नयाँ बजेट तथा नीतिगत प्रभावले नेपाली नेपाली बजारमा आउने तयारीमा रहेका नयाँ विद्युतीय सवारीलाई थप चुनौति सिर्जना गरिदिएको छ ।

 

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले पछिल्लो समयमा विद्युतीय गाडी कोना र आयोनिक फाइभ बिक्री गर्दै आएको छ । कम्पनीका प्रबन्धक दिवाकर रेग्मीले हुन्डाई ब्रान्डको कोना ईभीलाई सरकारको निर्णयले कुनै असर नपुगेको बताए ।

 

तर अब नेपाल भित्रिने आयोनिक फाइभको मूल्य भने ३५ लाख रुपैयाँले वृद्धि हुनसक्ने उनको भनाई छ । “१०० किलो वाट माथिका विद्युतीय गाडी आयात गर्दा अब ३० प्रतिशतसम्म अन्त:शुल्क तिर्नुपर्ने छ। आयोनिक फाइभको क्षमता १२४.९ किलो वाट रहेको छ ।

त्यसैले अब आउने गाडीमा औसत ३५ लाख रुपैयाँ बढेर आउने देखिन्छ,” उनले भने । पारामाउन्ट मोटर्सले नेपाली सडकमा चर्चित ईभी ब्रान्ड एमजीका विद्युतीय गाडी बिक्री गर्दै आएको छ ।

यो कम्पनीका विद्युतीय गाडीमा बजेटको प्रभाव धेरै नै परेको देखिन्छ । कम्पनीका सिनियर सेल्स म्यानेजर धिरज महर्जनका अनुसार कम्पनीले पछिल्लो समय चार सय बढी गाडीको प्रि-बुकिङ लिएको छ ।

 

तर बुकिङ गरिएको सम्पूर्ण गाडी अब नेपाल भित्रिँदा मूल्य बढेर आउने छ । जसले गर्दा यस अघिको मूल्यमा प्रि-बुकिङ गरेको भए पनि ग्राहकले बृद्धि भएको मूल्यमा गाडी खरिद गर्नुपर्ने उनको भनाई छ ।

अन्यथा प्रि-बुकिङ गरिएको रकम फिर्ता गर्ने योजनामा कम्पनी छ । कम्पनीले हाल विद्युतीय गाडीमा दुई ओटा मोडलको गाडी बिक्री गर्दै आएको छ ।

एमजीको स्ट्यान्डर्ड भेरियन्टको १३० किलो वाट र लङ रेन्ज मोडेलको ११५ किलो वाट क्षमताको गाडी रहेको छ । यसको मूल्य अब नेपाल भित्रिँदा धेरै नै बढेर आउने देखिन्छ ।

सरकारले ल्याएको नीति र बजेटबाट हुन्डाईको कोना, टाटाको नेक्सन ईभी, सीजीको नेटा भी, बीवाईडीको ई-सिक्स गाडी भने प्रभावित हुने छैन । यी गाडी पहिलेको मूल्यमा खरिद गर्न सकिने छ  ।

 

नयाँ व्यवस्था अनुसार अब १०० किलो वाट क्षमतासम्मको विद्युतीय कारमा १० प्रतिशत भन्सार र १३ भ्याट लाग्छ । तर १०० देखि २०० किलो वाट क्षमता भएका यस्ता सवारीमा भने भन्सार दर ३० प्रतिशत, अन्तःशुल्क ३० प्रतिशत र १३ भ्याट लाग्नेछ ।

त्यस्तै २०० देखि ३०० किलो वाट क्षमताका विद्युतीय कारमा भन्सार दर ४५ प्रतिशत, अन्त शुल्क ४५ प्रतिशत र १३ प्रतिशत भ्याट लाग्नेछ । यसैगरी, ३०० किलो वाट क्षमता माथिका विद्युतीय कारको भन्सार दर ६० प्रतिशत पुर्‍याइएको छ । यसमा थप ६० प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ र १३ प्रतिशत भ्याट समेत लाग्नेछ । 

हुन्डाई

हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय कार कोनासँगै आयोनिक फाइभको बिक्री गर्दै आएको छ । कोनालाई सरकारको निर्णयले कुनै प्रभाव नपर्ने भए पनि आयोनिक फाइभको मूल्यमा भने ४१ प्रतिशतले वृद्धि हुने छ ।

कम्पनीले आयोनिक फाइभको सोलार रुफ र भिजन रुफ गरी दुई ओटा भेरियन्ट नेपाल भित्र्याएको थियो । तर पछिल्लो समयमा १२४.९ किलो वाट क्षमताको भिजन रुफ भएको आयोनिक फाइभको माग बढी भएकाले कम्पनीले सोलार रुफ भेरियन्ट नेपाल ल्याउन छोडेको थियो ।

कम्पनीले भिजन रुफ भेरियन्टको आयोनिक फाइभ ८० लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा अब नेपाल भित्रिँदा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्त:शुल्क र १३ भ्याट गरी एक करोड १५ लाख ७४ हजार ५८० रुपैयाँ पर्ने देखिन्छ ।  

एमजी जेड एस

नेपालका लागि एमजी आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले दुई भेरियन्टमा एमजी जेडएस विद्युतीय कार बिक्री गर्दै आएको छ । यसअघि १३० किलो वाट क्षमताको स्ट्यान्डर्ड भेरियन्टको गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ र ११५ किलो वाट क्षमताको लङ्ग रेन्ज भेरियन्ट ५९ लाख ९९ हजार रहेको थियो ।

तर आगामी दिनमा नेपाल आउने यी दुई कारमा ४१ प्रतिशत मूल्य वृद्धि भएर स्ट्यान्डर्ड भेरियन्टलाई ७३ लाख ४२ हजार १४८ रुपैयाँ र लङ्ग रेन्ज भेरियन्टलाई ८४ लाख ७१ हजार ९२६ रुपैयाँ पर्नेछ ।

निसान लिफ

पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको ११० किलो वाट क्षमताको विद्युतीय कार निसान लिफ अब नेपालमा ८४ लाख ७३ हजार ३३८ रुपैयाँ पर्ने देखिन्छ । जब कि यो कार यसअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

ग्रेटवाल ओरा 

ग्रेटवाल ब्रान्डको विद्युतीय कार ओरा १२६ किलो वाट क्षमताको रहेको छ । ४६ किलो वाट र ६३ किलो वाट क्षमताको ब्याट्री भेरियन्टमा आउने यो कार कम्पनीले क्रमशः ४० लाख र ४८ लाख रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

तर अब भने ४६ किलो वाट भेरियन्ट १६ लाख ४८ हजार ८९२ रुपैयाँ र ६३ किलो वाट क्षमताको ब्याट्री भेरियन्ट १९ लाख ७८ हजार ६७१ रुपैयाँले महङ्गिने देखिन्छ । 

किया ईभी सिक्स

नेपालका लागि विद्युतीय कार कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेले निरो र ईभी ६ बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएको किया निरोमा १५० किलो वाट क्षमताको मोटर जडान भएको छ भने ईभी सिक्समा १६८ किलो वाट क्षमताको मोटर छ ।

कम्पनीले यी दुई मोडेलका कार क्रमशः ६९ लाख ९० हजार रुपैयाँ र एक करोड २० हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । तर अब नेपाल भित्रिने यी दुई सवारीको मूल्य क्रमशः ९८ लाख ७१ हजार ४३९ रुपैयाँ र एक करोड ६९ लाख ४६ हजार ६७७ रुपैयाँ पर्नेछ ।

टेस्ला

विश्व चर्चित विद्युतीय कार ब्रान्ड टेस्ला नेपालमा अरेत इन्टरनेशनलले भित्र्याउँदै आएको आएको छ । कम्पनीले हालसम्म टेस्ला मोडल थ्री, मोडल वाई र मोडल एक्स गरी तीन मोडेल बिक्री गर्दै आएको छ ।

कम्पनीले १९८ किलो वाट क्षमताको टेस्ला मोडल थ्री स्ट्यान्डर्ड भेरियन्ट एक करोड २५ लाख रुपैयाँमा बिक्री गर्दै आएको थियो । आगामी दिनमा नेपाल भित्रिने यो कारको मूल्य एक करोड ७६ लाख ५२ हजार ७८९ रुपैयाँ पर्ने देखिन्छ ।

त्यस्तै, कम्पनीले नेपालमा मोडल वाई २०९ वाट क्षमताको स्ट्यान्डर्ड र २९१ वाट क्षमताको लङ्ग रेन्ज भेरियन्टमा बिक्री गर्दै आएको थियो ।

यसअघि स्ट्यान्डर्ड भेरियन्ट एक करोड ६० लाख रुपैयाँ र लङ्ग रेन्ज एक करोड ७५ रुपैयाँमा बिक्री हुँदै आएकोमा अब क्रमशः दुई करोड ३१ लाख ५० हजार ३० रुपैयाँ र दुई करोड ५३ लाख २० हजार ३५४ रुपैयाँ पर्ने देखिन्छ । त्यस्तै, यस अघि दुई करोड २५ लाख रुपैयाँमा बिक्री हुँदै आएको टेस्ला मोडल एक्सको भने अब नेपाल नआउने भएको छ । 

बीवाईडी

बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता सिमेक्स इङ्क प्रालिले बीवाईडी ई सिक्स र ई सिक्स सेकेन्ड जेनेरेसन गरि दुई मोडेलका कार बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएका यी कारमा सरकारको बजेटले कुनै प्रभाव पर्दैन ।

तर कम्पनीले यही जुलाईमा नेपाल भित्र्याउने भनिएको नयाँ विद्युतीय कार ‘एटो थ्री’ भने बजेटबाट प्रभावित हुनेछ । १५० किलो वाट क्षमताको ‘एटो थ्री’ ८० किलो वाट ब्याट्री भेरियन्टको मूल्य हालसम्म खुलाइएको छैन। तर बजेटअनुसार यसको मूल्यमा ३० प्रतिशत अन्तः शुल्क र ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट थपिनेछ ।

https://unelma.io/aXCoj