एक जना व्यक्ति सुपरमार्केट जान्छन् । त्यहाँ गएर उनले एउटा चकलेट खरिद गर्छन्, तर काउन्टरमा पुगेर पैसा तिर्ने बेला आफ्नो पर्स घरमा भुलेको थाहा पाउँछन् । कपडा छामछुम गर्छन् पैसा भेट्दैनन् । त्यहाँका मानिसहरू उनलाई नै घुरेर हेर्न थाल्छन् ।

यही बीचमा उनले आफ्नो आईफोन निकाल्छन् र एप्पल पे मार्फत ‘एप्पल कार्ड’ का लागि आवेदन दिन्छन् र तत्काल उनको एप्पल पेको अकाउन्टमा क्रेडिट रकम आउँछ । अनि उनले आफ्नो पैसा तिर्छन् र बाहिर निस्कन्छन् ।

यो एप्पलले केही समयअघि सार्वजनिक गरेको विज्ञापन हो, जसमा त्यसले विस्तृत रूपमा कसरी काम गर्छ भन्ने कुरा विज्ञापनमा उल्लेख थिएन ।

एप्पलले सो फिचरलाई एप्पल पे लेटर नाम दिएको छ । गत सोमबार डब्लूडब्लूडीसी २०२२ (WWDC 2022) सम्मेलनमा एप्पलले आईओएस १६ मा ‘बाई नाउ, पे लेटर’ (अहिले किन्नुस्, पछि भुक्तानी गर्नुस्) अर्थात् एप्पल पे लेटर फिचर समावेश गर्ने घोषणा गरेको छ ।

प्रयोगकर्ताले यो फिचर एप्पल वालेट एपमा प्रयोग गर्न सक्नेछन् । उनीहरूले एप्पल पे मार्फत कुनै पनि कारोबार गर्दा बीएनपीएल (Buy now, pay later) प्लानका लागि आवेदन दिनसक्छन् ।

एप्पल पे लेटरका माध्यमबाट प्रयोगकर्ताले कारोबारलाई चार बराबर भागमा विभाजन गरेर कारोबार गर्नुपर्ने हुन्छ । उनीहरूले सो रकम ६ हप्तासम्म बिना कुनै ब्याज प्रयोग गर्नसक्छन् । त्यसपछि भने कम्पनीको नियम अनुसार शुल्क तिर्नुपर्ने हुन्छ ।

कम्पनीको प्रेस विज्ञप्तिका अनुसार प्रयोगकर्ताले सो क्रेडिटको अग्रिम भुक्तानी गरेर एप्पल वालेट एप मार्फत आगामी भुक्तानीको विवरण हेर्न सक्नेछन् । त्यसपछि एप्पल पे लेटरमा कुनै पनि थप शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ ।

एप्पल पे लेटरले पछि वालेट भित्र एप्पल पे लेटर भुक्तानीहरू हेर्न, ट्र्याक गर्न र भुक्तानी गर्न सजिलो बनाउँछ । त्यस्तै प्रयोगकर्ताले एप्पल पे अथवा वालेटबाट कारोबार गर्दा सोझै एप्पल पे लेटरका लागि आवेदन दिन सक्छन्,’ कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

प्रयोगकर्ताले ‘एप्पल पे लेटर’ सेवा प्रयोग गर्न योग्य हुनका लागि सबैभन्दा पहिले सफ्ट क्रेडिट चेक परीक्षण गर्न पर्ने हुन्छ । बेहेमथ (प्राविधिक क्षेत्रको ठूलो र शक्तिशाली कम्पनी) ले यो सुविधा प्रयोगकर्ताको आर्थिक स्वास्थ्यलाई ध्यानमा राखेर डिजाइन गरेको दावी गरेको छ ।

एप्पलले आफ्नो नाफा बढाउने प्रयासका यो सबै गरिरहेको अनुमान लगाउन सकिन्छ । त्यसैले उपभोक्ताले यस्तो सेवा प्रयोग गर्दा जोखिमबारे सचेत हुन आवश्यक छ ।

एप्पलले यो फिचर अमेरिकामा यही वर्षको अन्ततिर सार्वजनिक गर्ने भएको छ । यद्यपि नेपालमा एप्पल पे नचल्ने हुँदा नेपालका एप्पल प्रयोगकर्ता याे सुविधाबाट वञ्चित हुनेछन् ।
https://unelma.io/0oF76