नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फिनेटेकका लागि छुट्टै डेटा प्याक ल्याउन सेवा प्रदायकलाई निर्देशन दिने भएको छ ।

सोमबार राजधानीमा आयोजित ‘दूरसञ्चार सेवामा कर’ विषयक छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यसबारे जानकारी दिएका हुन् ।

उनले अनलाइन भुक्तानीको विस्तारका लागि आवश्यक कदम चाल्न प्राधिकरण सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।

‘अनलाइन भुक्तानीको विस्तारका लागि फिनटेक लक्षित डेटा प्याक आवश्यक हो भने त्यसमा प्राधिकरणले सहजीकरणको भूमिका निर्वाह गर्छ,’ खनालले भने, ‘टेलिकम सेवा प्रदायकलाई यस्ताे प्याक ल्याउन हामी प्रोत्साहित गर्नेछौं ।’

यसअघि सोही कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले फिनटेक विस्तारका लागि दूरसञ्चार सेवा प्रदायकबाट फिनटेक लक्षित छुट्टै डेटा प्याक ल्याउन प्रस्ताव राखेका राखेका थिए ।

उनको प्रस्तावको जवाफमा अध्यक्ष खनालले यस विषयमा प्राधिकरण सकारात्मक रहेको र सेवा प्रदायकलाई फिनटेक लक्षित डेटा प्याक ल्याउन निर्देशन दिने जानकारी गराए ।
http://unelma.io/YvMUo