सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो ।

सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् ।

काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुसी लाग्यो ।’

साहले संघ र प्रदेश सरकारले गरेको कार्यक्रमलाई किन गाली गर्ने कार्यक्रमको संज्ञा दिए त ? उक्त अभिमुखीकरणमा सहभागी एक जनप्रतिनिधिका अनुसार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्यमा राखेको धारणाप्रति बालेनले असन्तुष्टि जनाएका हुन् ।

जम्मकट्टेलले भने- बञ्चरेडाँडामा फोहोर लैजान पाइँदैन 

धादिङबाट प्रदेशसभामा निर्वाचित जम्मकट्टेलले  काठमाडौंको फोहोर व्यवस्थापनको विषय उठाएका थिए ।

‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

बञ्चरेडाँडा क्षेत्रका वासिन्दाको अवरोधका कारण जेठको करिब २० दिन काठमाडौंको फोहोर उठ्न सकेको थिएन । सहरी विकास मन्त्रालयसँग स्थानीय वासिन्दाको सहमति भएपछि गत हप्तादेखि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु भएको छ ।
http://unelma.io/Agamx