नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले एक सयभन्दा बढी भी-स्याट टर्मिनलहरूको अपलिंक/डाउनलिंक फ्रिक्वेन्सी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिई प्रयोग गरिरहेको पाइएको छ ।

अनुगमनको क्रममा टेलिकमले १०५ ओटा भी-स्याट टर्मिनलहरूको अपलिंक/डाउनलिंक फ्रिक्वेन्सी स्वीकृत नलिई प्रयोगमा ल्याएको पाएसँगै प्राधिकरणले चेतावनी दिएको छ ।

यसअघि केयू ब्याण्डका लागि लिज सर्भिस उपलब्ध गराउन नेपाल टेलिकम र कोरियाली कम्पनी केटी स्याट कम्पनीबीच सम्झौता भएको थियो ।

उक्त सम्झौता बमोजिम स्याटलाइट ब्याण्डविथ टेलिकमले प्राप्त गरे/नगरेको सम्बन्धमा प्राधिकरणबाट अनुगमन तथा निरीक्षणका लागि टाेली पुगेको थियो ।

अनुगमनको क्रममा टेलिकमले सञ्चालन गरिरहेको १०५ भी-स्याट टर्मिनलहरूको अपलिंक/डाउनलिंक फ्रिक्वेन्सी प्राधिकरणबाट स्वीकृति नलिई प्रयाेग भइरहेकाे पाइएको प्राधिकरणले जनाएको छ ।

त्यसका आधारमा यसअघि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम किन कारबाही नगर्ने भनी माघमा स्पष्टीकरण सोधेको थियो ।

जवाफमा टेलिकमले कम्पनीबाट सञ्चालनमा रहेका भी-स्याट नेटवर्कको क्यारियर फ्रिक्वेन्सीहरु केयू ब्याण्डको रेन्जभित्र नै रहेको व्यहोरा जानकारी गराएको थियाे ।

सँगै टेलिकमले भी-स्याट टर्मिनलको फ्रिक्वेन्सी प्रयोगको स्वीकृति लिई सेवा सञ्चालन गर्न निवेदन पेश गरिसकेको छ । टेलिकमको उक्त निवेदन हाल प्रक्रियामै रहेको हुँदा प्राधिकरणले एक पटकको लागि सचेत गराउने निर्णय गरेको जनाएको छ ।
http://unelma.io/cxYHV