सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । भोलि नै अर्को विधेयक दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने सरकारी तयारी छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत भएको त्यो समितिले बहुमतका आधारमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने प्रावधान पास गरेको छ । त्यसबेला नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने तत्कालै नागरिकता दिने हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने मत राखेका थिए ।

अहिले नेकपा विभाजित भएर तीन वटा दल बनेको छ भने कांग्रेसको नेतृत्वमा सरकार छ । र, सरकार नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने प्रावधानलाई निरन्तरता दिन तयार नभएपछि विधेयक नै फिर्ता गर्ने निर्णयमा पुगेको हो ।

सत्तारुढ पाँच दलमा सहमति भएका विषयहरुलाई मात्र समेटेर नागरिकता विधेयक ल्याउने सहमति जुटेको छ । स्रोतका अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने प्रावधान मात्र ल्याउने गरी नयाँ विधेयक ल्याउन चाहन्छन् ।

जबकी संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने लगायतको व्यवस्था गरेको छ । सबै विषय अघि बढाउन खोज्दा फेरि नागरिकता विधेयक अड्किनसक्ने तर्फ प्रधानमन्त्री देउवा सर्तक देखिएका छन् ।

सत्तारुढ दलहरुले भने सहमति भएका अरु विषय पनि समेटेर जान सकिने बताएका छन् । कानुन मन्त्रालयसम्बद्ध स्रोत भन्छ, ‘संशोधन विधेयकमा केके राख्ने भनेर राजनीतिक रुपमा सहमति खोजी भइरहेको छ, जे सहमति जुट्छ, त्यसअनुसार सम्भवत भोलि नै विधेयक दर्ता हुन्छ ।’
https://unelma.io/8yHG