-मनोहर भट्टराई 

 

केही अघिसम्म नेपालका लागि आवश्यक विद्युत उत्पादन नहुनु नै समस्याको विषय थियो । अहिले हामीले त्यसबाट पार पाइसकेका छौँ । 

भन्नुको अर्थ अब हामी विद्युत निर्यात गर्नसक्ने स्थितिमा पुगेका छौँ । तर यतिखेर उत्पादित विद्युत नेपालभित्रै खपत गर्न माग बढाउने  कि निर्यातमा ध्यान केन्द्रित गर्ने भन्ने प्रश्न छ ।

 

यसका लागि सूचना तथा प्रविधि क्षेत्र क्षेत्रमा के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरौँ । एकातिर हेर्ने हो भने विश्व तापमान वृद्धिसँग जोडेर कसरी एनर्जी इफिसेन्ट (कम ऊर्जा खपत गर्ने) डिभाइसहरू आइरहेको देख्छौँ ।

 

फेरि अर्को तिर रोचक कुरा के छ भने पावर हङ्ग्री (ऊर्जा धेरै आवश्यक पर्ने) एप्लिकेसन तथा मोडलहरू आउँदैछन् । यसरी एकातिर हामी इनर्जी इफिसेन्सीको कुरा गर्छौँ भने अर्को तिर फेरि यस्तो पावर हङ्ग्री एप्लिकेसन पनि आइरहेका छन् । 

 

अहिलेको समयमा तपाईँले ब्लकचेन प्रविधि क्रिप्टोकरेन्सी माइनिङको विषय सुन्नु हुन्छ । त्यसको मुख्य लागत भनेकै विद्युत हो । प्रविधिले कसरी काम गर्छ भन्ने यावत किसिमका कुराहरू छन् ।

तर ऊर्जा खपतको कुरा गर्दा यो एउटा सम्भावनाको क्षेत्र हो । यो कुरा मैले ऊर्जा खपतको अहिलेको सन्दर्भ र डिजिटल प्रविधिबीचको अन्तर सम्बन्ध केलाउनको लागि मात्रै भनेको हो । तैपनि यो हामीले हेर्नुपर्ने एउटा क्षेत्र हुनसक्छ कि !

यसो भन्दै गर्दा विशेषतः दुइटा देश मेरो दिमागमा आउँछन् । एउटा ताजिकिस्तान मुख्य रूपमा आउँछ । जसले ऊर्जालाई अलिकति सस्तो बनार माइनिङलाई नीतिगत रूपबाट नै प्रवर्द्धन गरिरहेको अवस्था छ ।

 

तर हामीले यहाँ अहिले त्यसलाई अलि नीतिगत तहबाटै रोक लगाइरहेको अवस्था छ । खासगरी नेपालमा वित्तीय उपकरणले यसलाई निषेध गर्ने काम गरिरहेको छ ।  तर  कुनै कुनै देशले भने यो क्षेत्रलाई नियमनभित्र ल्याएका पनि छन् । 

अर्को आईओटी (इन्टरनेट अफ थिङग्स)को क्षेत्र हुनसक्छ । यो चाहिँ एकदमै ठूलो किसिमले आउने देखिन्छ । अनि विद्युत खपत वृद्धि गर्न फाइभजी रोललाउट पनि महत्त्वपूर्ण हुनसक्छ ।

त्यसैले अब फाइभजीको ट्रायलमा नेपाल अगाडि बढिहाल्नु पर्छ । विशेषगरी विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग सहकार्य गरेर के ‘युज केस’ हुन सक्छन् भन्ने सन्दर्भमा अघि बढ्न ढिलाई गर्नुहुन्न । 

यसैगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्र पनि महत्त्वपूर्ण हुनसक्छ । साथै अब डेटा सेन्टर, क्लाउडमा लगायतका कुराहरूमा हाम्रो निर्भरता बढ्दै जानेछ ।

 

मैले त्यसो भन्दाखेरि डेटा सेन्टर क्लाउड अनि ऊर्जाको कुरा आइहाल्छ । त्यसकारण ऊर्जा खपत र डिजिटल प्रविधिको एकआपसको निर्भरता अझ मजबुत हुँदै जाने कुरा स्पष्ट छ । 

-टेकपानाको सहजीकरणमा २०७९ असार १७ गते होटेल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले प्यानलिस्टको रूपमा व्यक्त गरेको विचारको सम्पादित अंश

https://unelma.io/fDv49