नियामक नेपाल दूरसञ्चार प्राधिकरणले देशका विभिन्न तीन स्थानमा मोबाइल तथा कम्प्युटर मर्मत सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । प्राधिकरणले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सहकार्यमा यस्तो तालिम सञ्चालन गर्ने भएको हो ।

नियामकले भर्खरैमात्र आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम तय गरेको छ । सञ्चालक समिति बोर्डबाट पारित भएर मन्त्रालय पुगेको बजेटमा आवश्यक परिमार्जन भने हुन बाँकी छ ।

यद्यपि, बोर्डले पास गरेको बजेटलाई आधार मान्ने हो भने आगामी आर्थिक वर्ष २०७९/०८० मा मोबाइल तथा कम्प्युटर मर्मत सम्बन्धी तालिम प्रदान गर्ने विषय समावेश छ । ९० लाख बजेट छुट्याइएको यो कार्यक्रमको उद्देश्य प्राविधिक शिक्षालाई गाउँगाउँसम्म पुर्‍याउनु रहेको प्राधिकरणले उल्लेख गरेको छ ।यसले प्राविधिक शिक्षामार्फत रोजगारीका अवसरहरू सिर्जना हुनुका साथै ग्रामीण क्षेत्रमा सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।

https://unelma.io/2pLJf