काठमाडौं । पुरानै शैलीको सेवा र समय अनुकूल सेवा परिमार्जन गर्न नसक्दा हुलाक सेवा संकटमा पर्दै गएको छ । हुलाकलाई आधुनिकीकरण गरी सेवाकाे क्षेत्र विस्तार गर्न नसक्दा अस्तित्व नै गुमनाम हुने खतरा देखिएकाे छ ।

 

महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनका अनुसार सन् २०१७ यता हरेक वर्ष हुलाकबाट हुने पार्सल तथा चिठीपत्र सेवामा निरन्तर कमी आइरहेको छ ।

 

प्रतिवेदन अनुसार २०१७ मा आन्तरिकतर्फ तीन करोड ३४ लाख ५१ हजारकाे संख्यामा चिठीपत्रकाे काम गरेकाेमा वैदेशिकतर्फ भने ६२ लाख १८ हजार चिठीपत्रको काम गरेको थियो ।

 

यो संख्या सन् २०२० मा आएर आन्तरिकतर्फ तीन लाख ३५ हजार र वैदेशिक सेवा एक लाख ९४ हजारमा सीमित भएको छ ।

 

केही समयअघि गुगल प्लस कोड प्रविधि अपनाउन थालेपनि हुलाक सेवाप्रति सेवाग्राहीको चासो निरन्तर घट्दो छ ।

 

‘हुलाक सेवाको पुनर्संरचना गरी हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गर्न आवश्यक देखिएको छ,’ महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

बजेट वक्तव्य २०७७/७८ को बुँदा २७६ मा हुलाक प्रणालीको पुनर्संरचना गर्ने र हुलाक सेवालाई आधुनिक बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गर्ने उल्लेख भएको प्रतिवेदनले जनाएको छ ।

त्यस्तै ईकमर्सलाई हुलाक सेवासँग जोड्ने प्रस्ताव गरिएपनि कार्यान्वयन तहमा आउन सकेको छैन ।

https://unelma.io/fn1Bn