चालू आर्थिक वर्ष २०७८/०७९ मा (गतसाउनदेखि असारसम्म) वैदेशिक लगानी प्रतिबद्धता ५३ अर्ब ९५ करोड रूपैयाँ आएको छ।

उद्योग विभागको ०७९ असार ३१ गतेसम्म दर्ता भएको तथ्यांक हेर्दा २३ देशका लगानीकर्ताले दुई सय ९१ वटा परियोजनामा लगानी प्रतिबद्धता व्यक्त गरेका हुन्।

यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा ६८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशका लगानीकर्ताले १८४ वटा परियोजनामा ३२ अर्ब सात करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको थियो।

 

चालु आर्थिक वर्षमा आएका परियोजनामध्ये, कृषि तथा वनमा आधारित चार, ऊर्जामूलक एक, सूचना प्रविधिमा ६, पूर्वाधार ८, उत्पादनमूलक ५१, सेवामूलक ९७ र पर्यटनमा आधारित १२४ वटा उद्योग दर्ता भएका छन्।

दर्ता भएका अधिकांश परियोजना चिनियाँ लगानीकर्ताका छन्। उनीहरूले २२८ वटा परियोजनामा ४२ अर्ब ५२ लाख रूपैयाँ प्रतिबद्धता व्यक्त गरेका छन्।

दोस्रोमा, भारतीय लगानीकर्ताले १२ वटा उद्योगमा दुई अर्ब ४८ करोड रूपैयाँ लगानी गर्ने बताएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

 

त्यस्तै अमेरिकी लगानीकर्ताले १४ परियोजनामा ६५ करोड, बेलायती लगानीकर्ताले सात परियोजनामा ४० करोड, इटालियन लगानीकर्ताले पाँच परियोजनामा ३५ करोड लगानी गर्ने बताएका छन्।

क्यानडा र अस्ट्रेलियाका लगानीकर्ताले ४/४ परियोजनामा क्रमशः २८ करोड र ४३ करोड लगानी गर्ने बताएका छन्। त्यस्तै बंगलादेश, जापानी, नेदरल्यान्ड्सका लगानीकर्ताले २/२ वटा परियोजनामा क्रमशः १० करोड, १३ करोड ५० लाख र ११ करोड लगानी गर्ने बताएका छन्। बाँकी देशका लगानीकर्ताले भने एक/एक परियोजनामा लगानी गर्ने बताएका छन्।

दर्ता भएका उद्योग सञ्चालनमा आए १६ हजारभन्दा बढीले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ।
उद्योग विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्यायका अनुसार कोभिडका कारण पछिल्लो वर्ष वैदेशिक लगानी प्रतिबद्धता बढ्दो गतिमा छ। कोभिडले आउन नसकेको लगानी पछिल्लो समय आएकाले वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा बढेको उनी बताउँछिन्।

'कोभिडले दुई वर्ष विदेशी लगानीमा असर पार्‍यो,' उनले भनिन्, 'अहिले धमाधम लगानी प्रतिबद्धता आइरहेको छ।'

प्रतिबद्धता बढे पनि प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताको ठूलो हिस्सा साना तथा मझौला उद्योगमा केन्द्रित छ। ठूला उद्योगमा भने यस्तो प्रतिबद्धता कम छ। चालु आर्थिक वर्षमा दर्ता भएका कुल परियोजनामध्ये  साना २१५, मझौला ७३ र ठूलामा पाँच परियोजना दर्ता भएका छन्। ठूला उद्योगमा लगानी गर्नेमा भारत, स्पेन, अमेरिका र चिनियाँ लगानीकर्ता छन्।

भारतीय लगानीकर्ताले होटल र जलविद्युतमा लगानी गर्ने बताएको छ। त्यस्तै स्पेनका लगानीकर्ताले जलविद्युतमा लगानी गर्ने बताएका छन्। अमेरिकी लगानीकर्ताले जलविद्युत र सोलारमा लगानी गर्ने बताएको छ।

विभागकी प्रवक्ता उपाध्याय भन्छिन्, 'लगानीकर्ताले छिटो मुनाफा पाइने क्षेत्रमा लगानी गर्ने भएकाले ठूला उद्योगमा लगानीकर्ता आकर्षित नभएका हुन्।'

उनका अनुसार उत्पादनमूलक उद्योगमाभन्दा सेवा तथा पर्यटन क्षेत्रबाट छिटो मुनाफा पाउन सकिन्छ। सरकारले विदेशी लगानी भित्र्याउन गरेको कोशिस बालुवामा पानी खन्याए जस्तो भइरहेको छ। विदेशी लगानी भित्र्याउन विभिन्न ऐननियम बनाइएको, संशोधन गरिए पनि अझै नेपालमा लगानीको सुनिश्चितता नदेखेर विदेशीले ठूला उद्योगमा लगानी गर्न सकेका छैनन्।

नेपालमा कच्चा पदार्थको अभाव छ। उद्योगीले बाहिरी देशबाटै कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्नुपर्छ। लगानीबाट नाफाको ग्यारेन्टी नहुनाले विदेशीले ठूला उद्योगमा लगानी गर्न सकेका छैनन्। उत्पादित सामान उपभोग गर्ने बजार सानो भएकाले पनि विदेशीले ठूला उद्योगमा लगानी गर्न नसकेको जानकारहरू बताउँछन्।

कच्चा पदार्थ पनि बाहिरबाटै ल्याउने अनि सामान उत्पादन गरेर बेच्न पनि बाहिरै लैजानु पर्दा नाफा थोरै हुने हुनाले विदेशीले ठूला उद्योगमा लगानी गर्दैनन्। विदेशी लगानीको सीमा न्यून हुनाले ठूला उद्योगमा विदेशी लगानी आउन नसकेको कर्पोरेट मुद्दा वकालत गर्दै आएका अधिवक्ता सुवास पाठक बताउँछन्।

'साना परियोजनामा त यहीँका उद्योगीले लगानी गर्न सक्छन्,' उनले भने, 'जबसम्म वैदेशिक लगानीको सीमा बढाउन सकिँदैन तबसम्म ठूला उद्योगमा लगानी आउँदैनन्।'

वैदेशिक लगानीको न्यूनतम सीमा थोरै हुँदा त्यसको दुरूपयोग हुने सम्भावना अधिक रहने उनको भनाइ छ।

आर्थिक वर्ष २०७९/०८ को बजेटले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी दुई करोड रूपैयाँ कायम गरेको छ। यसअघि न्यूनतम ५ करोड रूपैयाँ थियो।

नेपालमा लगानी गर्ने क्षेत्र धेरै नहुनु, लगानीको सुनिश्चितता नहुनु र अन्य देशको तुलनामा यहाँ बाहिरी देशबाट कच्चा पदार्थ ल्याउन महँगो पर्ने भएकाले विदेशीले ठूला क्षेत्रमा लगानी गर्न सकेका छैनन्।

'विदेशी ठूलो लगानी दूरसञ्चार, सिमेन्ट र जलविद्युतमा देखिएको छ।  त्यसमा धेरै लगानी आइसक्यो,' उनले भने, 'अब सरकारले लगानीकर्तालाई फाइदा हुने अरू क्षेत्रको पहिचान गरिदिनु पर्छ।'

सबैभन्दा बढी लगानीकर्ता होटलमा आकर्षित देखिएका छन्। दर्ता भएका कुल उद्योगमध्ये एक सय २६ वटा उद्योग होटल सञ्चालनका लागि दर्ता भएका छन्। लगानीकर्ताले ठूलादेखि सानासम्मका होटल खोल्ने बताएका छन्।

त्यस्तै कार्गो, विद्युतीय उपकरण बनाउने, दुईपांग्रे सवारीको एसेम्बल (जडान), मास्क उत्पादन, तयारी पोशाक, निर्माण सेवा, सफ्टवेयर विकास, वधशाला तथा मासु प्रशोधन लगायत परियोजना सञ्चालन गर्न प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ।

संसारभर कोरोना महामारीका कारण पर्यटन क्षेत्र शिथिल भएको छ। यस्तोमा होटलमा लगानी गर्ने जोखिम धेरैले उठाउन चाहँदैनन्। तर यही क्षेत्रमा लगानी प्रस्ताव धेरै आउँदा विदेशीहरूले नेपालमा पर्यटन सम्भावना प्रचूर देखेका हुन सक्ने होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।

'कोरोना महामारीका कारण संसारभरका मान्छे भ्रमण गर्न पाइरहेका छैनन्। यस्तोमा महामारीपछि उकुसमुकुस भएका मान्छेहरू धेरै घुम्न जाने सम्भावना छ। योसँगै होटल क्षेत्र फस्टाउने सम्भावना अधिक भएकाले पनि व्यवसायीहरूले अहिल्यैदेखि होटल दर्ता गरिरहेको हुन सक्छन्,' शाहले भने।

उनकाअनुसार अहिले दर्ताको प्रक्रिया मात्र भएको छ। लगानीकर्ताले दर्ता गर्दै बैंकिङ प्रक्रिया अगाडि बढाउँछन्। सञ्चालनमा आउन समय लाग्छ। खासगरी चिनियाँ, अमेरिकी, भारतीय, भियतनामी, इटालियन, फ्रान्सेली, स्वीस, अस्ट्रेलियन र बेलायती लगानीकर्ताले नेपालमा होटल खोल्न चासो देखाएका छन्। 

https://unelma.io/kjSbE