अचेल रेष्टुरेन्ट, पार्क, एयरपोर्ट, सार्वजनिक स्थान जहाँतही फ्री वाईफाई छन् । 

कफी सपमा गएर घन्टौंसम्म कफी र फ्री इन्टरनेटको आनन्द लिन निकै रमाइलो हुन्छ। हामी फ्री वाईफाई देख्नासाथ केही नसोची कनेक्ट गर्छौ।  फ्री वाईफाई जति कनेक्ट गर्न सजिलो र सहज छ यसमा त्यति नै जोखिम पनि हुन सक्छ ।   

फ्री र पब्लिक वाईफाईमा अनलाइन अकाउन्ट एक्सेस गर्न, इमेलहरू चेक गर्न, सामाजिक सञ्जाल चलाउन, अनलाइन गेम खेल्ने आदि काम गर्दा गोपनीयता र सुरक्षा जोखिमहरू भने बिर्सिन हुँदैन । 

पब्लिक वाईफाईमा जोसुकैले सजिलै पहुँच पाउन सक्छन् । पहिलो कुरा त ओपन नेटवर्कमा कनेक्ट हुनु आफैँमा जोखिमपूर्ण छ। ह्याकरले  त्यहि नामको नेटवर्क बनाएर सजिलै हटस्पट छाड्न सक्छ ।  यस्तो नेटवर्क सेटअप गर्न वाईफाई पाइनेपल जस्ता डिभाइस सजिलै बजारमा पाउन सकिन्छ। यस्ता डिभाइसमार्फत फेक वाईफाई नेटवर्क सेट अप गर्न सकिन्छ ।

 

वाईफाई मेनुअल कनेक्शनमा नभई अटोमेटिक कनेक्शनमा छ भने नजिकको सबैभन्दा बलियो फ्री नेटवर्क जुन छ त्यसैमा स्वतः कनेक्ट हुन्छ । फेक वाईफाईमा छाडिएको नेटवर्क बलियो छ भने तपाइको डिभाइस त्यही फेक नेटवर्कमा कनेक्ट हुन्छ । त्यसपछि मिडलम्यान अर्थात फेक नेटवर्क सेटअप गर्ने पक्षले तपाइले त्यो नेटवर्कमा जे–जे गर्नुहुन्छ सबै पहुँच पाउँछ ।

 

फ्री वाइफाइको सबैभन्दा ठूलो खतरा भनेको तपाई र कनेक्शन प्वाइण्टबीचमा ह्याकरले पहुँच पाउन सक्नु हो । यसो भएमा तपाइले ब्राउजिङ्ग गरेको सबै विवरण ह्याकरले सेटअप गरेको नेटवर्कमा  जान्छ।  त्यसैले सार्वजनिक स्थानमा फ्री वाईफाई चलाउदा युजर नेम के हो सोधेर भेरिफाइ गरेर मात्र कनेक्ट गर्नुहोला ।

वाईफाई अन छ भने त पासवर्ड अनप्रोटेक्टेड (पासवर्ड नराखिएका) वाईफाई जहाँ सिग्नल भेटे पनि कनेक्ट हुन्छ । यस्ता असुरक्षित वाईफाईबाट ह्याकरले सजिलै माल्वेयर डिस्ट्रिब्युट गर्न सक्छन् । यदि नेटवर्कमा फाइल सेयर गर्ने अनुमति दिनुभयो भने ह्याकरले सजिलैसँग तपाईंको डिभाइसमा संक्रमित सफ्टवेयर इन्जेक्ट गर्न  सक्छ । अझ केहीले त कनेक्शन पोइन्टलाई नै ह्याक गरेर तपाईँको डिभाइसमा सफ्टवेयर अपग्रेडलगायतका पप–अप विन्डो देखिने बनाउन सक्छन् । यदि तपाईँले त्यो विण्डोमा क्लिक गर्नुभयो भने डिभाइसमा माल्वेयर सजिलैसँग प्रवेश गर्न सक्छ। त्यसैले पासवर्ड अन प्रोटेक्टेड वाईफाईमा सकेसम्म कनेक्ट नभएकै राम्रो।   

अब रिस्क छ भनेर फ्री वाईफाईमा कनेक्ट नै नहुने भन्ने चाहिँ हुँदैन । फ्री वाईफाई ह्याकरको लागि निकै सहज टार्गेट हो । आवश्यक साबधानी अपनाएर आफ्नो जानकारी सुरक्षित रहने तरिकाले भने पक्कै चलाउन सक्नुहुन्छ।  

 

सुरक्षित कसरी रहने ?

भर्चुअल प्राइभेट नेटवर्कको प्रयोग  

एक भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरेपछि यसले तपाइले फ्री र पब्लिक वाईफाईमा ब्राउज गर्नुभएको सबै डेटालाइ बलियोसँग इन्क्रिप्ट गर्दछ। यो डेटालाई डिक्रिप्ट गर्न निकै लामो र अप्ठेरो हुने भएकाले सहज टार्गेट खोजेका ह्याकर यसको पछि खासै लाग्दैनन् । यसले तपाइको डेटा चोरी हुन बाट बचाउँछ ।  

सेफ ब्राउजिङ्ग 

सार्वजानिक वाईफाईमा इनक्रिप्टेड HTTPS भएको साइट मात्र ब्राउज गरौ। HTTPS साइट HTTP भन्दा धेरै सुरक्षित र इन्क्रिप्टेड हुन्छ। सामान्यतया इन्टरनेट ब्राउजिङको लागि ख्एल् उपलब्ध नहुन पनि सक्छ। त्यस्तो अवस्थामा तपाईंले बारम्बार भिजिट गर्ने  वेबसाइटहरूमा “Always use  HTTPS” विकल्प इनेबल गरेर ब्राउज गर्नुहोस् ।  कुनै अनावश्यक फर्ममा युजरनेम पासवर्ड, ब्याङ्क डिटेल्स जस्ता विवरण नभर्नुहोस।  सकेसम्म सामाजिक सञ्जाल पनि  एप भन्दा ब्राउजर बाटै चलाउनुहोस। साथै ब्राउज गरिसकेपछि हिस्ट्री र क्यास  डिलिट गर्ने गर्नुहोस्। आफु लग–इन भएको सबै वेवसाइटबाट लग–आउट हुनुहोस् ।  

सार्वजानिक वाईफाईमा सकेसम्म ब्याङ्किङ्ग एप्लिकेशन प्रयोग नगर्नुहोस्। मिलेसम्म मोबाइल डेटाको प्रयोग गर्नुहोस्।  यदि वाईफाई नै प्रयोग गर्न परे पनि वेबपेजबाट ब्राउज गर्नुहोस् । आफ्नो डिजिटल अकाउन्ट, इमेल अकाउन्टलाई सुरक्षित राख टु फ्याक्टर अथेण्टिकेशन सधै इनेबल गर्नुहोस्। 

फायरवाल अप्सन अन गर्नुहोस् 

फायरवाल एक प्रणाली हो जसले आगमन (Incoming) र बाहिर जाने (Outgoing) नेटवर्क ट्राफिक फिल्टर गरेर नेटवर्क सुरक्षा प्रदान गर्दछ । सामान्यतया, फायरवालको उद्देश्य अनावश्यक नेटवर्क कम्युनिकेशन घटाउँदै वा हटाउँदै वैधानिक कम्युनिकेशनलाइ प्रवाह हुन दिनु हो । फायरवालहरूले सुरक्षाको एक आवश्यक तह उपलब्ध गराउँछ जसले संकास्पद ढंगबाट तपाइको सर्भरमा हुने पहुँचलाइ रोक्छ । यसका साथै, फायरवाल अप्सन सधैका लागि ON गर्नुहोस् ।  

कनेक्टिभिटी अफ गर्ने

सार्वजनिक वाईफाईमा हुनुहुन्छ भने आफ्नो मोबाइल फोनको ब्लुतुथ कनेक्टिभिटी सधै बन्द गर्नुहोस्। सेट अप गरिएको नेटवर्क रैछ भने ब्ल्युतुथ अन हुँदा ह्याकरले सजिलै तपाइको डिभाइसमा पेनिट्रेट गर्न सक्छ । सँगै आफ्नो वाईफाई कनेक्सन सधै म्यानुअल मोडमा राख्नुहोस्।  

एन्टीभाइरसको प्रयोग 

सार्वजानिक वाईफाईमा प्रयोग हुने वाईफाईहरुमा मिलेसम्म एन्टीभाइरसको प्रयोग गर्नु उचित हुन्छ । एन्टीभाइरसले सिस्टम सुरक्षालाई अझ बलियो बनाउँछ ।  

सार्वजनिक वाईफाई जोखिमयुक्त त छन् नै तर चलाउने नहुने भने हैन । बैंकिङ कारोबार, व्यक्तिगत विवरण खुलाउने एप्लिकेशनको प्रयोग नगरी सुरक्षित रहेर चलाउँदा राम्रो हुन्छ 

https://unelma.io/C03O3