नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडीले पेट्रोलियम पदार्थबाट चल्ने गाडी सरह चर्को भाडा लिन नपाउने बताएका छन् । मङ्गलबार प्राधिकरणले स्थापना गरेको पहिलो विद्युतीय सवारी चार्जिङ स्टेसनको उद्घाटनमा क्रममा उनले यस्तो बताएका हुन् ।

पेट्रोलियम पदार्थ आयातमा चर्को रकम खर्च भइरहेको अवस्थामा व्यापार घाटा कम गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्राधिकरणले देशका विभिन्न ५१ स्थानमा चार्जिङ स्टेसन बनाइरहेको छ । विगतमा लोडसेडिङको समयमा विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दे आन्तरिक रुपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए ।

 

“विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ,” उनले भने, “तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडी सरहकै लिने गरेको गुनासो आएको छ । हामी यसको अनुगमन गर्छौं ।”

 

तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकाले भाडामा सहुलियत दिन समेत घिसिङले आग्रह गरेका छन् । 
http://unelma.io/OkfNf