काठमाडौं । सन् २०२२ मा धेरै सुरक्षा कमजोरी भेटिएको ब्राउजरको रुपमा गुगल क्रोम उभिएको छ । एटलासले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार गुगल क्रोम सन् २०२२ को सबैभन्दा कमजोर ब्राउजर बनेको हो । प्रतिवेदनका अनुसार क्रोम ब्राउजरमा यस वर्ष कुल ३०३ सुरक्षा कमजोरीहरू फेला परेको छ ।

आफूभन्दा धेरै पुराना ब्राउजरहरूमध्ये पनि क्रोम सबैभन्दा कमजोर ब्राउजर बनेको छ । धेरै सुरक्षा कमजोरी भेटिएको ब्राउजरको सूचीमा क्रोमपछि दोस्रो नम्बरमा मोजिल्ला फायरफक्स रहेको छ । मोजिल्ला फायरफक्समा ११७ सुरक्षा कमजोरीहरू भेटिएको छ ।

त्यस्तै १०३ कमजोरीका साथ तेस्रो स्थानमा माइक्रोसफ्ट एज छ भने सफारी र ओपेरा क्रमशः २६ र ० कमजोरीका साथ चौथो र पाँचौं स्थानमा छन् ।

सन् २००८ देखि सुरु भएको क्रोममा आजको दिनसम्म सबैभन्दा धेरै सुरक्षा कमजोरीहरू फेला परेको छ ।

प्रतिवेदन अनुसार यो ब्राउजर सुरु भएदेखि आजसम्म कुल कुल ३,१५९ सुरक्षा कमजोरीहरू फेला परेका छन् । जबकि फायरफक्स, सफारी र ओपेरा सबै क्रोमभन्दा पुराना ब्राउजर हुन् । यी ब्राउजरहरूमा क्रमशः २३६१, ११३९ र ३४४ सुरक्षा कमजोरी फेला परेको छ ।

त्यस्तै माइक्रोसफ्ट एज ब्राउजरमा सन् २०१५ देखि आजसम्म कुल ८०६ कमजोरीहरू पत्ता लागेका छन् ।

https://unelma.io/MMxET