काठमाडौं । पछिल्लो समय नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ । कम्पनीहरू पुराना ग्राहकलाई कायम राख्न र नयाँ ग्राहक बनाउन हरतरहको प्रयासमा लागिपरेका छन् ।

तर सरकारी स्वामित्वको नेपाल टेलिकम भने नयाँ ग्राहक थप गर्ने मामिलामा निष्क्रिय जस्तै देखिएको छ । निजी सेवा प्रदायकहरूले आर्थिक वर्ष २०७८/०७९ (२०७८ साउन १ देखि २०७९ असार मसान्तसम्म) मा पाँच लाख २१ हजार १५६ ग्राहक बनाउँदा टेलिकमले भने जम्मा दुई हजार ३२० ग्राहक मात्र थप्न सकेको छ ।

अझ २०७८ साउन यताको विवरण हेर्ने हो भने नयाँ ग्राहक विस्तारमा टेलिकमको स्थिति ठप्प प्रायः छ । आर्थिक वर्ष २०७८/७९ मा टेलिकमले इन्टरनेट तर्फ वायरलेस सेवामा १२ हजार २६८ र केबलमा ४८ हजार ८९७ ग्राहक गुमाएको भए पनि फाइबर तर्फ ६३ हजार ४८५ ग्राहक बनाएको छ ।

नयाँ ग्राहक थप्नेमा डिशहोम आक्रामक 

नयाँ ग्राहक थप गर्ने मामिलामा डिशहोम फाइबर नेट सबैभन्दा आक्रामक देखिएको छ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क लिमिटेडले एक वर्षमा सबैभन्दा बढी अर्थात एक लाख ४८ हजार ५२१ ग्राहक बनाउँदा डिशहोमले एक लाख १४ हजार २६२ नयाँ ग्राहक थप गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ ।

यस हिसाबले वर्ल्डलिङ्कको नयाँ ग्राहक विस्तार २९ प्रतिशत रहँदा डिशहोमले भने ६३६ प्रतिशत कायम गरेको देखिन्छ । यसैगरी धेरै ग्राहक बनाउने कम्पनीको सूचीमा ७८ हजार ७६१ नयाँ कनेक्सनका साथ भायनेट तेस्रोमा छ भने ७२ हजार ५९१ ग्राहक बनाएको क्लासिक टेक चौथो स्थानमा छ ।

पछिल्लो एक वर्षको अवधिमा टेक माइन्ड्सले ३६ हजार ७९७, सुबिसुले २५ हजार ७६१, सीजी नेटले २१ हजार ७२८, ब्रोडलिङ्कले नौ हजार ६८ नयाँ ग्राहक बनाउँदा वेब सर्फरले भने १० हजार ७०६ ग्राहक गुमाएको छ । अन्य बाँकी कम्पनीहरूले कूल २४ हजार ५७७ नयाँ ग्राहक बनाएको नेपाल दूरसञ्चार प्राधिकरणको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा थपिएका नयाँ इन्टरनेट ग्राहक सङ्ख्या

सेवाप्रदायक १ साउन २०७८ असार मसान्त, २०७९ नयाँ ग्राहक
वर्ल्डलिङ्क 511,681 660202 148,521
भायनेट 152,131 230688 78,557
सुबिसु 210,513 236274 25,761
नेपाल टेलिकम 290,023 292343 2,320
क्लासिक टेक 157,885 230476 72,591
सीजी नेट 567 22295 21728
वेब सर्फर 74,042 63336 -10,706
डिशहोम फाइबरनेट 17,964 132226 114,262
टेक माइन्ड्स 66,834 103631 36,797
ब्रोडलिङ्क 46,218 55286 9,068
अन्य 183587 208164 24577
जम्मा 1,711,445 2234921 523,476

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

https://unelma.io/LZ7Cc