काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ । इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले असोज १० बाट यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि वाणिज्य बैंकका ग्राहकले सबैभन्दा पहिले सेवा दर्ता गर्नुपर्ने हुन्छ । टेकपानासँग कुरा गर्दै राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकालले यो सेवा दुर्गम स्थलका ग्राहकलाई लक्षित गरी ल्याइएको जानकारी दिए ।

यो सेवा प्रयोग गर्न ग्राहकले बैंक अकाउन्ट खोल्न प्रयोग भएको नमस्ते (नेपाल टेलिकम)को सिम प्रयोग गर्नुपर्ने हुन्छ । एनसेल सिम भएका ग्राहकलाई पनि यो सुविधा उपलब्ध गराउन बैंकले प्रयास गरिरहेकाे उनले जनाए ।

हाल नमस्ते सिम भएका ग्राहकका लागि मात्र यो सुविधा उपलब्ध रहेको हुँदा प्रयोगकर्ताले बैंक अकाउन्ट खोल्न प्रयोग भएको सिममार्फत सेवा सुचारू गर्नुपर्ने हुन्छ । यो सेवा सुरू गर्दा ग्राहकको बैंक अकाउन्टबाट ५० रुपैयाँ कट्ने ढकालले जानकारी दिए ।

यसका लागि आफ्नो फोनमा *३१०११*२०१# डायल गर्नुहोस् । तपाईंले सेवा दर्ता गर्नुभएको छ भने कारोबार गर्ने विकल्प देखिन्छन् । सिममा जसरी कोड राखेको भरमा विभिन्न प्याक लिन सकिन्छ, त्यसरी नै विभिन्न कारोबार गर्न सकिने ढकालको भनाइ छ ।

यदि दर्ता गर्नुभएको छैन भने दर्ता गर्नुपर्ने अप्सन देखिन्छ । दर्ता गर्नका लागि १ टाइप गरेर सेन्डमा ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो बैंक नम्बर इन्टर गर्नुहोस् ।

त्यसपछि अकाउन्ट नम्बर खुलेको अवस्थामा अन्य प्रक्रिया पछ्याई दर्ता गर्न सकिन्छ । याद गर्नुहोस्, यो सेवा माथि उल्लेखित प्रक्रिया अपनाएर आफ्नै मोबाइल फोनबाट सुचारू गर्न सकिन्छ ।

यूएसएसडी मोबाइल बैंकिङ सेवा सुचारु गरेपछि प्रयोगकर्ताले इन्टरनेट नहुँदा नै विभिन्न बैंकिङ सेवामा पहुँच पाउने कम्पनीको भनाइ छ । विशेषगरी इन्टरनेटबिना विभिन्न बैंकिङ कारोबार गर्न, पानी, बिजुली, टिभी तथा इन्टरनेट आदिको बिल भुक्तानी गर्न र आफ्नो सिममा ब्यालेन्स पठाउन सकिने बैंकले उल्लेख गरेको छ ।

https://unelma.io/06149