ब्याट्री चाँडै सकिनु कुनै पनि डिभाइसको सामान्य समस्या हो जुन हामीले नै धेरै भोगिरहेका हुन्छौं । यस प्रकारको समस्या समाधान गर्न विभिन्न विकल्पहरू छन्। उदाहरण को लागी, तपाईं एक एडप्टर र एक पावर बैंक अथवा चार्जिङ केबल बोक्न सक्नुहुन्छ । 

यद्यपि अन्य पनि धेरै उपयोगी उपायहरू छन् जसलाई तपाईंको आफ्नो मोबाइल पटक पटक चार्ज गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ । त्यो मध्ये एउटा उपाय सार्वजनिक स्थलमा चार्ज गर्नु पनि हो । तर सार्वजनिक स्थलमा मोबाइल चार्ज गर्नु कतिको उपयोगी छ ?

आजभोली नेपालमा पनि केही सार्वजनिक स्थलहरूमा चार्जिङ पोर्टहरू देख्न सकिन्छ । अथवा कतै कुनै होटलहरूमा जादा आफ्नो फोन त्यही चार्ज गर्न दिने प्रचलन पनि छ । यसले तपाईंको डिभाइस चार्ज त हुन्छ नै तर यसले अर्को समस्या पनि निम्त्याउन सक्छ । अर्थात सार्वजनिक स्थलमा जथाभावी यूएसबी चार्जिङ पोर्टमा आफ्नो फोन जोड्दा डेटा चोरी पनि हुनसक्छ । 

यसले ह्याकरहरूको लागि बाटो खोल्न सक्छ, र तिनीहरूले तपाईंको डेटा चोरी गर्न सक्छन्। तिनीहरूले मालवेयर सहितको युएसबीहरू सार्वजनिक चार्जिङ स्टेशनहरूमा लोड गर्छन् । प्रयोगकर्ताले उक्त पोर्ट प्रयोग गरेपछि ह्याकरले सोही पोर्टको माध्यमबाट तपाईंको मोबाइलमा पहुँच बनाउन सक्छ र तपाईंको डेटा चोरी हुनसक्छ । 

तपाईंले सार्वजनिक यूएसबी चार्जिङ स्टेशनहरू मार्फत आफ्नो फोन चार्ज गर्दा ह्याकरहरूले तपाईंको फोनलाई भाइरसद्वारा संक्रमित गर्न सक्छन् । पछि, तिनीहरूले तपाईंको डेटामा पहुँच पुराएर तपाईंको डेटा चोरी गर्न सक्छन् । यो कुरालाई धेरै विज्ञहरूले पनि पुष्टि गरिसकेको छ ।

प्रत्येक पटक तपाईले आफ्नो फोनलाई त्यस्ता स्टेशनहरूमा जडान गर्नुहुन्छ, यो असुरक्षित हुन्छ र डेटा चोरीको सम्भावना पनि उत्तिकै बढ्छ । ह्याकरहरूले यसबाट डेटा ह्याक मात्र गर्दैनन्, तपाईंको फोन प्रयोग गरेर साइबर अपराध गर्न पनि सक्छन् । हाम्रो मोबाइलमा त के नै हुन्छ र भनेर डेटा चोरीको विषयमा गम्भीर नहुँदा त्यसले कुनै गम्भीर समस्या पनि पैदा गर्न सक्छ ।  

यस्तो ह्याकहरूबाट बच्नको लागि केही उपायहरू भने छन् जुन तपाईंले आफ्नो फोनलाई कम कमजोर बनाउन अथवा सुरक्षा गर्न प्रयोग गर्न सक्नुहुन्छ। जब तपाईंको स्मार्टफोन अर्को कुनै डिभाइसमा जडान हुन्छ, यसले केही कुराहरूको लागि अनुमति माग्छ, जस्तो कि डेटा स्थानान्तरण, चार्जिङ, आदि। त्यसैले तपाईंले डेटा स्थानान्तरणलाई अनुमति दिनु हुँदैन। 

यद्यपि यसले सधै काम गर्छ भन्ने छैन तर केही हदसम्म यो उपायले पनि तपाईंको डेटा चोरी हुनबाट रोक्न सक्छ ।
https://unelma.io/o5hMu