काठमाडौं । पोखरा-जोमसोम हवाई मार्गमा राष्ट्रिय आविष्कार केन्द्रले मौसम निरीक्षण अनुसन्धान गर्न थालेकाे छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

केन्द्रले पोखरादेखि जोमसोम जाने हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामरा जडान गरेर एक महिनादेखि परीक्षण गरिरहेको उनले जानकारी दिए ।

यो क्यामेरा ३३०० मिटर र २३०० मिटर अग्लो डाँडामा राखिएको छ । यसले खिचेको उक्त हवाई मार्गमा पर्ने खोंचहरुको शनिबार बिहानको वास्तविक समयको (Real time) भिडियोको स्क्रिनशट पनि पुनले सार्वजनिक गरेका छन् ।

यो क्यामेराले नेपालको पहाडी भेगमा हवाईजहाज उडाउने पाइलटहरुलाई निकै मद्दत पुग्ने उनकाे विश्वास छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा केन्द्रले यो काम गरेको पुनले बताए ।

नागरिक उड्डयन प्राधिकरणले अरु जोखिमयुक्त ठाउँहरुमा पनि यस्तै सिस्टम राख्ने योजना बनाएका कारण केन्द्रले यस कामका लागि सघाएको उनकाे भनाइ छ । 

हाल केन्द्रले क्यामेरा जडान गरेका स्थानमा वर्ल्डलिंक कम्युनिकेसनले पोखराबाट निःशुल्क इन्टरनेट प्रदान गरिरहेको छ ।

https://unelma.io/ifYHo