काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले 'नो नट अगेन' अभियानमा आफ्नो फोटो जोडिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्नेछ भन्दै असन्तुष्टि जनाएका हुन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएदेखि नै पुराना नेता वा पटकपटक प्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिलाई भोट नदिन भन्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको थियो, जसलाई 'नो नट अगेन' अभियान भनिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा केही 'नो नट अगेन' नाम भएका पेज र ग्रुप छन्, जसमा पुराना नेताहरूको फोटो राख्दै नजिताउन आह्वान गरिएको छ । यसरी विभिन्न नेताहरूको नाम उल्लेख गरेर उनीहरू भोट दिन लायक छैनन् भन्ने किसिमका पोस्ट भइरहेका छन् ।

निर्वाचन आयोगले चुनाव प्रभावित पार्ने उद्देश्यले यस्ता पेज बनाइएकाे भन्दै हटाउन बारम्बार निर्देशन समेत दिएको छ । यसपछि याे अभियानबारे  पक्ष र विपक्षमा मत आइरहेको छ ।

यसै विषयमा आफ्नो फोटो र नाम जोडिँदा अध्यक्ष भट्टराईले ट्वीटरमा लेखेका छन्, "जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढङ्गको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ, उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ? उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक सञ्जालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !"

आफू चुनावी प्रतिस्पर्धामा नभएकाले आफ्नो नाम उक्त सूचीमा नहुनुपर्ने भट्टराईको तर्क छ । निर्वाचन आयोगको निर्देशनपछि पनि सामाजिक सञ्जालमा त्यस्ता पेज तथा ग्रुपहरू सक्रिय छन् ।

https://unelma.io/OhK6x