एलन मस्कको स्वामित्वमा ट्वीटर आएपछि भएपछि त्यहाँका कर्मचारीले दैनिक १२ घण्टा काम गरिरहेको कुरा बाहिर आएको छ । कम्पनीमा विभिन्न काम तथा नयाँ परियोजना अपूरो भएको भन्दै मस्कले कर्मचारीलाई साताको ८४ घण्टा काम गर्न बाध्य पारेको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार मस्कले दिएको डेडलाइनभित्र काम गर्न ट्वीटरका मेनेजर लगायत अन्य कर्मचारीहरू दैनिक १२ घण्टा काम गर्न बाध्य छन् । बिहीबार ट्वीटरको पूर्ण स्वामित्व आफूले लिएपछि मस्कले उक्त प्लेटफर्मलाई नयाँ तवरबाट अघि बढाइरहेका छन् ।

मस्कको यही नीतिले कति कर्मचारी हटाइनेछन् भन्ने कुरा स्पष्ट छैन । मस्कले ब्लु टिक कायम राख्न मासिक ८ डलर तिर्नुपर्ने फिचर तयार पार्न कर्मचारीलाई सोमबारसम्मको समयसीमा दिएका छन् । उक्त मितिसम्म सो परियोजना सम्पन्न नगरेको अवस्थामा त्यस कामसँग सम्बन्धित सबै कर्मचारी बर्खास्त गर्ने मस्कले चेतावनी दिएका छन् ।

ट्वीटरको आम्दानी वृद्धि गर्न र प्लेटफर्मलाई नयाँ तवरबाट अघि बढाउन मस्क लगायत अन्य कर्मचारी प्रयासरत छन् । कर्मचारीले परियोजना सम्पन्न गर्नका लागि दिएकाे अतिरिक्त समय (ओभरटाइम)को भुक्तानी पाउँछन् या पाउँदैनन् भन्ने कुरा पनि स्पष्ट छैन ।

यही चिन्ताले गर्दा ट्वीटरका मेनेजर मुख्यालयमै सुत्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हरेक ट्वीटर मेनेजरलाई आफ्नो सेक्टरलाई पूर्णता दिन मस्कले निर्देशन समेत दिएका छन् ।

विगतमा पनि कर्मचारीले ट्वीटरले कम्पनीमा बढी समय काम लगाएको उल्लेख गरेका थिए । एलन मस्कको बायोग्राफी बुकमा पनि उनको कम्पनीमा कफीको सबैभन्दा बढी बिल आउने उल्लेख थियो । कफीले निन्द्रा नलगाओस् भनेर कफी खपत गर्ने गरेको उक्त बायोग्राफीमा उल्लेख छ ।