ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक नियम उल्लङ्घन गरेका स्कुल बसलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थीको सुरक्षाका लागि स्कुल बस निर्देशिका अनुसार गाडी सञ्चालन गर्न पनि ट्राफिक प्रहरीको आग्रह छ । विशेषगरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने गर्दा दुर्घटना समेत बढेको छ । गएको बिहीवार स्कुलबाट घर फर्किने क्रममा बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको थियो । मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए–नभएको निरन्तर अनुगमन गर्ने र मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

https://u16p.com/blsvsc3r4f