सिंहदरबार परिसर भित्र रहेका पुराना सवारी साधन लिलामी गरिने भएको छ । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३औं बैठकले यस्तो निर्णय गरेको हो । सिंहदरबार परिसर भित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुन अनुसार ‘लिलामी प्रक्रिया तत्काल अगाडि बढाउने’ निर्णय समितिले गरेको हो ।

समितिको बैठक मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको थियो । बैठकले सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कामका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ । यसअघि यस्ता सवारी साधनको लगत राखेर व्यवस्थापन गर्ने भनिए पनि लामो समयदेखि यस्तो काम भने हुन सकेको छैन ।बैठकले राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कामलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अन्तर निकाय सूचना आदान प्रदानमा सहजीकरण गर्न र एकीकृत सूचना प्रणाली अवलम्बन गर्न समेत समितिले भनेको छ ।