ट्वीटरमा नयाँ मालिकका रूपमा एलन मस्क आएपछि विभिन्न प्रयोगकर्ताको अकाउन्ट सस्पेन्ड हुने क्रम जारी छ । पछिल्लो पटक एलन मस्क र ट्वीटरको नीति आलोचना गर्ने पत्रकारहरू पनि यसको निशानामा परेका छन् ।

ट्वीटरले बिहीबार द न्यू वर्क टाइम्स, वासिङ्टन पोस्ट, सीएनएन लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूको अकाउन्ट बन्द गरिदिएको छ । ट्वीटरको नीति उल्लंघन गरेको भन्दै अकाउन्ट सस्पेन्ड गरिएको जानकारी दिइएपनि थप कारण भने खुलाइएको छैन ।

 

गत बुधबार मात्रै विभिन्न सरकारी एजेन्सी, अर्बपति एवं चर्चित सेलिब्रेटीको प्राइभेट जेट ट्र्याक गरी ट्वीटरमा पोस्ट गर्ने २५ भन्दा बढी अकाउन्टलाई स्थायी रुपमा सस्पेन्ड गरिएको थियो । यसक्रममा एलन मस्कको प्राइभेट जेटबारे जानकारी दिने २० वर्षीय ज्याक स्वेनीको अकाउन्ट पनि सस्पेन्ड गरिएको थियो ।

हालै ट्वीटरले कसैको अनुमति बिना उनीहरूको करेन्ट लोकेसन शेयर गर्न नपाइने नियम लागू गरेको छ । यो नियमको आलोचना गरेकै भरमा पत्रकारहरूको ट्वीटर अकाउन्ट सस्पेन्ड गरिएको हुनसक्ने विश्लेषण गरिएको छ ।

 

पछिल्लो समय मस्कले आफूलाई वाक स्वतन्त्रता वा फ्रिडम अफ स्पिचको पक्षमा उभाएको दाबी गरेपनि उनीविरुद्ध बोल्ने प्रायःको अकाउन्ट सस्पेन्ड भएको छ ।