हिजोआज प्रहरी कार्यालयमा आउने अधिकांश उजुरीमध्ये अनलाइन ठगीका घटना धेरै छन् । अनलाइनमा भेटिने व्यक्ति वा सामग्रीलाई विश्वास गर्दा एक पटकमै वा पटक पटक गरी लाखौं रकम ठगी भएको घटना बाहिरिरहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्र औसतमा दैनिक २३ ओटा अनलाइन ठगीका उजुरी दर्ता हुने गरेको सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् । 

 

''अनलाइनमार्फत ठगी प्रवृत्ति मौलाउँदै गएको छ,'' कोइराला भन्छन्, ''हाम्रो कार्यालयमा मात्र महिनामा औसतमा ३०० बढी अनलाइन ठगीका घटना दर्ता भइरहेका छन् ।''

उही प्रकृतिका अनलाइन ठगीका घटना बढी भए पनि अनुसन्धान र कारबाहीमा समस्या भइरहेको उनी स्वीकार्छन् ।

ई-कमर्स शैलीमा ठगी धन्दा

अनलाइनमार्फत ठगी भएकाे भन्दै प्रहरी कार्यालयमा उजुरी दिनेमध्ये सबैभन्दा बढी ई-कमर्ससँग सम्बन्धित रहेकाे काेइराला बताउँछन् ।

''यस्ता घटनामा पीडकहरू महङ्गा स्मार्टफोन वेबसाइट तथा फेसबुकको मार्केटप्लेसमा सस्तो मूल्य राखेर प्रचार गर्छन्,'' उनी भन्छन्, ''त्यसपछि खरिद गर्न खोज्ने व्यक्तिबाट विभिन्न बहानामा रकम असुल गरेर अन्त्यमा गायब हुन्छन् । उनीहरूले रकम पठाएको वालेट तथा बैंक विवरण झुटो हुन्छ । अरूकै नामको बैंक खाता खोलेर रकम लेनदेन भएको हुँदा प्रहरीलाई पीडक पहिचान गर्न गाह्रो हुन्छ र त्यस्ता घटना सेलाउँछन् ।''

उनी थप्छन्, "हामीले उनीहरूलाई पहिचान गर्ने माध्यम भनेको फोन नम्बर वा ह्वाट्सएपको आईपी एड्रेसबाट हो । यता सिम पनि नक्कली अकाउन्टबाट खोलिएको हुन्छ । सिम वितरकसँग सोध्दा 'युजर नट फाउन्ड' भनेर ईमेल पठाउँछ । अनि अर्को कुरा ह्वाट्सएसको आईपी एड्रेसबाट पनि पत्ता लगाउन सकिन्छ । तर, त्यसका लागि ह्वाट्सएपकै कार्यालयमा पुग्नुपर्ने हुन्छ । ह्वाट्सएप लगायत नेपालमा कार्यालय नहुने अन्य प्लेटफर्म हाम्रो सम्पर्कमा आउँदैनन् । मेल पनि रेस्पोन्स हुँदैन । केही उपाय नलाग्ने भएपछि केस बन्द गर्नुपर्ने वाध्यता आउँछ ।"

त्यसैले आफूलाई शङ्का लागेका ई-कमर्स साइटबाट सामान खरिद गर्दा सजग रहन उनले अनुरोध गरे ।

एउटा घटनामा ४० हजारको फोनका लागि पाँच लाख रूपैयाँ बढी ठगी भएको उजुरी आएको सुनाउँदै पीडित बेलैमा सचेत नहुँदा यस्ता घटना बढिरहेकाे उनले बताए । ''थाेरै शुल्कमा महँगाे सामान वा उपहार पाउने नाममा अनलाइनमा भेटिने मानिसलाई​ पैसा बुझाउने प्रवृत्ति बढेकाे छ,'' उनले भने, '४० हजारकाे फाेन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा पाँच लाखसम्म पैसा बुझाएकाे भेटियाे । फसेकाे रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।'

आफूले खरिद गर्न लागेको मूल्यभन्दा एक रूपैयाँ पनि बढी लिन खोज्यो भने ठगिएँ भनेर बुझ्नपर्नेमा धेरै मानिसहरू प्रलाेभनमा परेर थप रकम गुमाउन पुग्ने उनी बताउँछन् ।

भिडिओ कलबाट गोप्य फोटो वा भिडिओ राखेर ब्ल्याकमेल

भिडिओ कल गरेर गोप्य तस्वीर खिच्ने र त्यसैको आडमा ब्ल्याकमेल गर्ने घटना पनि बढ्दो सङ्ख्यामा रहेकाे काेइराला सुनाउँछन् ।

''उजुरी हाल्ने डर देखाउँदा फोटो भाइरल गरिदिने धम्की दिन्छन् । त्यसपछि पैसाभन्दा इज्जत ठूलो भन्दै पीडित आफ्नो सम्पत्ति रित्याउन बाध्य हुन्छन्,'' उनले भने ।

यस्तो घटनामा अन्तिमसम्म पनि इज्जत गुम्ने डरले पीडितले उजुरी दिन नखोज्ने प्रहरीको निष्कर्श छ । यस्ता अपराध कसैले गरिरहेको छ भने तुरुन्तै प्रहरी कार्यालयमा उजुरी दिन उनले अनुरोध गरे । 

गिफ्टको प्रलोभनमा विदेशी नामबाट ठगी 

फेसबुकमा साथी भएको व्यक्तिलाई छोटो समयमा विश्वास गर्दा धेरै ठगिने प्रहरीको आउने उजुरीले देखाएका छन् ।

"अपरिचित विदेशी नाम भएका अकाउन्टमा पीडितहरू जोडिन्छन् । गिफ्टको प्रलोभन देखाएर वा एयरपोर्टमा चेकिङ पर्दा यति रकम दिनुपर्ने भयो भन्दै रकम पठाउन लगाउँछन् । यसरी रकम पाएपछि उनीहरू गायब हुन्छन् । अनि सम्पर्कमा नआएपछि पीडितले आफू ठगिएको थाहा पाउँछन्," उनले थपे ।

विदेशी भन्नासाथै इन्टरनेटमा आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्तिले धेरै मानिसहरू ठगिने गरेको प्रहरीको निष्कर्ष छ ।

फेसबुकमा आफन्तले नै किन नहोस् केही घटना भनेर पैसा माग्दा सोझै नपठाउन कोइरालाको सुझाव छ । उनी भन्छन्, "प्रलोभनमा परेर आफूले कहिल्यै नचिनेको मान्छेलाई रकम पठाउनु भनेको त सोझै ठगिनु हो ।"

यस्ता ठगीमा पीडक पहिचान गर्न गार्हाे हुने भएकाले मानिसहरू आफैं सचेत हुनुपर्नेमा कोइरालाले जाेड दिए ।

https://u16p.com/vxadfmkjbj