नेपाल राष्ट्र बैंकले ५ पुसमा (मंगलबार) ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।

४ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल ५ पुसमा र ६ पुसमका निष्कासन हुनेछ । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्रको ब्याज अर्धवाषिर्क रुपमा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसरी आर्जित ब्याजमा ब्याजकर नलाग्ने सूचनामा उल्लेख छ ।

ऋणपत्रको सावाँ भुक्तानी ६ पुस २०८३ मा हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमा स्रोत व्यवस्थापन गर्न सरकारले २ खर्ब ५६ अर्ब राष्ट्र ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये मंगलबार ५ अर्ब रुपैयाँ ऋण विकास ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो ।

५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धी र ७५ करोड रुपैयाँ अप्रतिस्पर्धी रुपमा बोलकबोल हुनेछ । विकास ऋणपत्र २ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।
 https://u16p.com/sxnvwtjdus