जर्मनीकाे सडकमा वायरलेस चार्जिङ सिस्टम जडान गरिने भएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनीको चर्चित राजमार्ग 'अटोबह्न'मा वायरलेस चार्जिङ सिस्टम कार्यान्वयनमा ल्याउन लागिएकाे हाे । यद्यपि सुरूवाती चरणमा यो चार्जिङ प्रणाली सार्वजनिक बसले मात्रै प्रयाेग गर्न पाउनेछन् ।

बालिङ्गन सहरबाट यात्रु ल्याउने सार्वजनिक सवारीले याे वायरलेस चार्जिङ सेवा पाउने बताइएकाे छ । इजरायली वायरलेस चार्जिङ कम्पनी इलेक्ट्रेनले जर्मनीकाे ईभी चार्जिङ पूर्वाधार प्रदायक कम्पनी ‘ईएनबीडब्लू’ सँग सहकार्य गरी  ‘वायरलेस अन-रोड चार्जिङ सिस्टम’ उपलब्ध गराउन लागेकाे हाे ।

 

इलेक्ट्रेनले उक्त सडकको एक भागमा एक किलोमिटर इलेक्ट्रिक रोड सिस्टम समावेश गर्नेछ, जसले बस चलिरहेको अवस्थामा वायरलेस चार्जिङ उपलब्ध गराउने स्रोतले उल्लेख गरेको छ । त्यसका साथै सडकका बस स्टपमा दुई ओटा चार्जिङ स्टेसन समेत राखिने छ ।

यो परियोजना दुई चरणमा सम्पन्न हुने बताइएकाे छ । पहिलो चरण अन्तर्गत दुई ओटा स्थिर चार्जिङ स्टेसनसहित ४०० मिटर लामो बाटो निर्माण गरिनेछ । त्यसपछिको दोस्रो चरणमा बाँकी ६०० किलोमिटरमा इलेक्ट्रिक बाटो विस्तार हुनेछ ।

यो प्रविधि सुरक्षित, सहज र भरपर्दो भएको इलेक्ट्रेनका सीईओ डाक्टर एन्ड्रेस वेन्ड्टले  दाबी गरेका छन् । यस कम्पनीले इटाली र सिड्नीका बाटोमा वायरलेस अन-रोड चार्जिङ प्रणालीमा काम गरिसकेको छ । यस वायरलेस अन-रोड चार्जिङ सिस्टमले बाटोमा लामो समय लाम बसेर चार्ज गर्नुपर्ने झन्झटलाई कम गर्न निर्माण कम्पनीको विश्वास छ ।

सुरुवाती चरणमा यो प्रविधि सार्वजनिक सवारीलाई उपलब्ध गराइने भए पनि निकट भविष्यमा निजी सवारीले पनि पाउनसक्ने कम्पनीको भनाइ छ । यो परियोजना कहिलेबाट सुरु हुन्छ भन्ने कुराको आधिकारिक जानकारी बाहिर आइसकेको भने छैन ।

https://u16p.com/nl3isr7wu1