शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौं लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ ।
शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गरिएकाले ४० मिनेटभन्दा बढी लाइनमा बस्न नपर्ने शाखा प्रमुख बासुदेव वस्तीले बताए ।
शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको शाखा प्रमुख वस्तीले बताए ।