एक विद्यार्थीले च्याटजीपीटीले लेखेका जुनसुकै कुराहरू पहिचान गर्न सक्ने एप बनाएका छन् । मानिसकै शैलीमा विभिन्न प्रश्नका उत्तर दिने तथा निर्देशन अनुसारका लेख लेखिदिने ओपन एआई कम्पनीको च्याटजीपीटी टुल यतिबेला चर्चित छ ।

उक्त टुलका कारण विद्यार्थीमाझ नकारात्मक असर परेको भन्दै आवाज उठिरहेको बेला अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीका कम्प्युटर विज्ञानका विद्यार्थी २२ वर्षीय एडवार्ड टियान नामका विद्यार्थीले च्याटजीपीटीकाे लेख पहिचान गर्ने एप बनाएकाे दाबी गरेका छन् ।

 

उनले एउटा त्यस्तो एप विकास गरेका छन्, जसले कुनै पनि टेक्स्ट च्याटजीपीटीले लेखेको हो वा होइन भन्ने कुरा पहिचान गर्न सक्छ ।

टियानले एक ट्वीट गर्दै आफूले नयाँ वर्ष २०२३ काे अवसरमा जीपीटीजिरो (GPTZero) नामक उक्त एप बनाएको उल्लेख गरेका छन् । उक्त एपले छिटो र भरपर्दो रूपमा कुनै पनि एस्से (निबन्ध) च्याटजिपीटीद्वारा लेखिएको हो वा होइन भन्ने कुरा पहिचान गर्नसक्ने उनको दाबी छ ।

 

च्याटजीपीटीका कारण विद्यार्थी वा अन्य मानिसहरू कम रचनात्मक हुने कुरालाई मध्यनजर गर्दै आफू उक्त टुलको विकासमा लागेको उनको भनाइ छ ।

च्याटजीपीटी सार्वजनिक भएपछि विद्यार्थीले च्याटजीपीटी प्रयोग गरी आफ्नो परीक्षा दिएको घटना बाहिरिएका छन् । त्यस्तै कतिपयले आफ्ना गृहकार्य गराउन पनि च्याटजीपीटीलाई लगाएको घटना छन् ।

"यहाँ च्याट जीपीटीको प्रचार धेरै भइरहेको छ," टियान ट्वीट गर्दै लेख्छन्, "के त्यो मानिसले लेखेका हुन् वा एआईले लेखेको हो, हामी त्यो जान्न चाहन्छौं ।"

उक्त एप सार्वजनिक भएको एक हप्तामा ३० हजार बढी मानिसले जाँच गरिसकेको टियानको भनाइ छ । कुनै पनि निबन्ध च्याटजीपीटीले लेखेको हो वा होइन भन्ने जाँच गर्न धेरै मानिसहरू आएको हुँदा ट्राफिक व्यवस्थापन गर्नै गाह्रो भएको उनको अनुभव छ ।

जीपीटी जिरोले कसरी काम गर्छ ?

कुनै पनि लेख च्याटजीपीटीले लेखेको हो वा होइन भन्ने कुरा पहिचान गर्न जीपीटी जीरोले दुई ओटा कुरालाई आधार बनाउँछ । एउटा पर्प्लेसिटी (perplexity) र अर्को ब्रस्टिनेस (burstiness)। 

पर्प्लेसिटीले शब्दको जटिलतालाई दर्शाउँछ । यदि कुनै निबन्धले जीपीटी जिरोलाई अन्योलमा पार्‍यो भने त्यो मानिसले लेखेको हो भन्ने पुष्टि हुन्छ । किनभने जति शब्द र डेटाले च्याटजीपीटीलाई तालिम दिइएको छ, जीपीटी जेरोलाई पनि त्यसरी नै तालिम दिइएको छ । जसले डेटाबेसमा भएका शब्दका माध्यमबाट कुनै पनि लाइन, वाक्य वा निबन्ध च्याटजीपीटीले लेखेको हो वा होइन भन्ने कुरा पहिचान गर्न सक्छ ।

यदि कुनै पनि अनुच्छेद जीपीटी जिरोलाई गाह्रो लागेन भने त्यो एआईबाट लेखिएको हो भन्ने प्रमाणित हुन्छ । टियानका अनुसार शब्द पहिचान गर्न प्रयोग हुने अर्को विधि हो 'ब्रस्टिनेस' । यसले वाक्यका भएका विविधतालाई तुलना गर्छ ।

मानिसले लेखेका शब्दमा धेरै विविधता हुन्छ । र, शब्दहरू जटिल हुन्छन् । तर, एआईले लेखेका शब्दहरू कम जटिल हुने भएकाले तथा त्यसमा कम विविधता हुने भएकाले च्याटजीपीटीले लेखेको प्रस्ट हुने उनको भनाइ छ ।

कुनै पनि टेक्स्ट च्याटजीपीटीले तयार पारेको हो वा होइन भन्ने जाँच गर्न यहाँ क्लिक गर्नुहोस् । पर्पेक्सिलिटी जति धेरै भयो शब्द एआईले लेखेको हो भन्ने सम्भावना त्यति नै धेरै हुन्छ ।

त्यहाँ देखाइएको पर्पेक्सिलिटीको अङ्कलाई प्रतिशत मानिन्छ । जति अङ्क पर्पेल्क्सिटीमा आउँछ, त्यति प्रतिशत एआईले लेखेको भन्ने बुझिन्छ ।

https://u16p.com/dv7xytjkdm