नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक  फराकिलो त बन्यो, तर पुल साँघुरै भए । फराकिलो सडक र पुल साँघुरो हुँदा एकातिर दुर्घटनाको जोखिम बढ्यो भने, अर्कोतिर जीर्ण बनेका पुलमा सवारी जाम हुने अवस्था आयो । कतै घुम्तीहरु पनि यथावत नै रहे, यसलाई पनि पुल बनाएर सिधा गराउने योजना सरकारले अगाडि ल्यायो । घुमाउरा सडक सिधा गर्ने गरी जलबिरेमा पुल बनेर सञ्चालनमा आइसक्यो भने, सेती दोभानको पुल तयार भैसकेको छ तर सञ्चालमा आउन बाँकी छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १९ वटा पुलहरुमध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । यसरी सञ्चालनमा आएका पुलमा जलबिरे, मौरीपुल (३० मिटर) दासढुंगा पुल (२० मिटर) र खानीखोला पुल (३० मिटर) छन् ।

बाँकी १५ वटा पुलमध्ये ९ वटा पुल करिब तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् । कालीखोला, रिग्दी, सिमलताल र जुगेडीको पुलको फाउण्डेसनको काम भैरहेको छ ।

चिसेञ्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोला पुलको फाउण्डेसनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि एक वर्ष म्याद थपिएको छ । २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।
https://unelma.io/taiOn