राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत ११ पुसदेखि १३ माघसम्म ३२ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री भए ।

उनी गृहमन्त्री रहेकै बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संघीय संसद सचिवालयमा विभिन्न मन्त्रालयसँग सम्बन्धित ५६ वटा प्रश्नहरु दर्ता गरे । अधिकांश प्रश्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित छ ।

‘रवि लामिछाने गृहमन्त्री हुँदा गृहमन्त्रालयसँग सम्बन्धित केही प्रश्नहरु दर्ता गरेको छु’ सांसद सुवालले अनलाइनखबरसित भने । संसद सचिवालयका अनुसार मन्त्री फेरिए पनि त्यस मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको जवाफ नयाँ मन्त्रीले दिनुपर्ने हुन्छ ।

रवि लामिछानेले गृहमन्त्रीका रुपमा जवाफ दिन नपाएका प्रश्नहरुमध्ये पहिलो प्रश्न हो– ‘कालापानीमा रहेको भारतीय सेना हटाउन कस्तो पहल भइरहेको छ ? कालापानी, लिपुलेक र लिम्पयाधुरासम्म नेपालको प्रशासनिक उपस्थिति कहिलेदेखि हुन्छ ?’

नेपालले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुुरालाई समेटिसकेको छ । तर, यो क्षेत्रमा भारतको उपस्थिति छ । भारतीय सेनाको क्याम्प नै छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणना समेत यस क्षेत्रमा स्याटेलाइटबाट तथ्याङ्क लिएको थियो ।

सांसद सुवाल भन्छन्, ‘नेपालको राजनीतिक नक्सामा भएको क्षेत्रबाट भारतीय सेना हटाउने र त्यस क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति जनाउने सन्दर्भमा मेरो प्रश्न छ ।’

लामिछानेले गृहमन्त्रीको रुपमा जवाफ दिन नपाएको दोस्रो प्रश्न पनि भारतीय सीमा समस्यासँग सम्बन्धित छ । नेपाल भारत सीमा समस्या समाधान गर्नका लागि १९९० मै द्विपक्षीय संयन्त्र बनेको थियो । २०१४ मा बाउण्ड्री वर्किङ ग्रुप बनाइएको थियो । नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन सहमति अनुसार पहिले भारतीय प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, तर बुझेका छैनन् ।

नेपाल र भारतका बीचमा ६६८ ठाउँमा सीमा समस्या रहेको उल्लेख गर्दै सुवालले प्रश्न सोधेका छन्, ‘यति धेरै संयन्त्र भएर पनि नेपाल र भारतका बीचमा सीमा समस्या समाधानमा ठोस पहल भइरहेको छैन किन ? सीमा अतिक्रमण सहेर बसिरहने र रोक्न पहल गर्ने ? सीमा अतिक्रमण रोक्न पहल गर्ने भए के कस्ता पहल विगतमा भए, अब के हुनेछन् स्पष्ट कार्ययोजनाबारे जानकारी दिइयोस् ।’

गृहमन्त्रालयसँग सम्बन्धित सांसद सुवालको तेस्रो प्रश्न छ, ‘दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ फर्काएर भारतले पर्खाल उठाएको छ । त्यो भत्काउनेतर्फ के पहल भएको छ ?’

यी प्रश्नहरु रवि लामिछानेले ४ मंसिर चुनावको प्रारम्भिक नतिजा आउँदै गर्दा दिएको अभिव्यक्तिसँग समेत सम्बन्धित छ । महाकाली नदीपारी भारतीय पक्षले सडक निर्माण गर्दै गर्दाको अवस्थामा ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएपछि १९ मंसिर २०७९ मा वक्तव्य निकालेर लामिछानेले विरोध गरेका थिए ।
https://unelma.io/Gdfrj