ई–कमर्स प्लेटफर्म अमेजनले भिडिओ स्ट्रिमिङ सर्भिस एमएक्स प्लेयर खरिद गर्न लागेको खबर बाहिरिएको छ । एमएक्स प्लेयर भारतको चर्चित भिडिओ स्ट्रिमिङ सर्भिस तथा भिडिओ अन डिमान्ड प्लेटफर्म हो । हालसम्म अमेजन र एमएक्स प्लेयरबीच आधिकारिक सम्झौता भइसकेको छैन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम टेकक्रन्चले विभिन्न स्रोतलाई उद्रित गर्दै अमेजनको एमएक्स प्लेयरलाई आफ्नो स्वामित्वमा ल्याउने योजना रहेको उल्लेख गरेको छ । सन् २०१८ मा भारतको टाइम्स इन्टरनेटले १४ करोड डलरमा एमएक्स प्लेयर खरिद गरेको थियो । एमएक्स प्लेयरका माध्यमबाट विभिन्न फर्म्याटका भिडिओ हेर्न सकिन्छ । 

विशेषगरी एन्ड्रोइड प्रयोगकर्ताका लागि तयार पारिएको उक्त प्लेटफर्म पछिल्ला केही वर्षदेखि मात्र स्ट्रिमिङ सेवामा आबद्ध भएको हो । भारतका प्रयोगकर्तालाई निःशुल्क केबल टिभी च्यानलमा आबद्ध गराउँदा उक्त प्लेटफर्मले थप चर्चा पाएको थियो । उक्त प्लेटफर्मले अहिले पनि विज्ञापन मार्फत आम्दानी गरिरहेको छ ।

छोटा भिडिओको सन्दर्भमा एमएक्स प्लेयर सबैभन्दा पहिले बजारमा आएको एप मानिन्छ । त्यसमा पनि भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि यो एप थप लोकप्रिय बनेको हो । एमएक्स प्लेयरका अधिकांश प्रयोगकर्ता भारतबाट छन् । एमएक्स प्लेयरका अनुसार भारतमा मात्र उक्त प्लेटफर्मका ५ करोड बढी ग्राहक र १५ करोड बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । 

विभिन्न रिपोर्टका अनुसार एमएक्सप्लयेरको बजार मूल्य अहिले ५० करोड डलर रहेको छ ।

https://u16p.com/pmmes0qdk0