राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णयको स्वागत गरेका छन् ।

उनले बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह गरेका थिए ।

अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने लामिछानेले बताए । 

गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।

अर्थात्, लामिछाने भारी मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको थियो । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।

अब फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने दाबी गरेका छन् ।

‘त्यसैले पनि मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौँ । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरूले जुन ढङ्गले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन।’

https://u16p.com/znhftfwcfa