गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलबाट मोबाइल तथा अन्य सामान लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको छ । सोमबार यातायात मजदुरको आन्दोलन चलिरहँदा उक्त मलमा रहेको दूई ओटा पसल तोडफोड गरी सामान लुटिएको थियो ।

यो घटनाको दृश्य सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ भने मोबाइल पसलको सीसीटीभीमा पनि कैद भएको छ । तर घटना भएको दुई दिनमा प्रहरीले चार जना आरोपितलाई मात्रै नियन्त्रणमा लिएको छ ।

मोबाइल पसल तोडफोड गरी भित्र पसेर चोरी गर्ने क्रममा मलमा कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । ती चारै जनामाथि प्रहरी वृत्त, महारजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली खटाइसकिएको छ । साथै घटनास्थलकाे सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीकाे बयान र अन्य प्रमाण संकलन गरिसकेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनाेज केसीले जानकारी दिए ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा यातायात व्यवसायीले सोमबार आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा यातायात व्यवसायीले प्रहरीका दुईवटा भ्यानसमेत जलाएका थिए ।