सोमबार गोङ्गबु नयाँबसपार्कस्थित ल्होत्से मलका मोबाइल पसल तोडफोड गरी लुटपाट गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा सोमबार तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, इयरफोन लगायतका सामान चोरी तथा लुटपाट भएको थियो ।

सो घटनामा संलग्न थप ६ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअन्तर्गत काठमाडौँ शंखरापुर नगरपालिका ८ घर भई बसमा यात्रु हाल्ने काम गर्ने २३ वर्षीय रोजन डंगोल, गोरखा घर भई हाल काठमाडौं माछापोखरी बस्ने लगेज बोक्ने, भरिया काम गर्ने ३० वर्षीय सुजन तामाङ, धादिङ जिल्ला नेत्रावती घर भई हाल काठमाडौँ बालाजु बस्ने न्यू भण्डारी खाना घरमा खाना पकाउने काम गर्ने २३ वर्षीय सुवास अधिकारी, झापा झिलझिले घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने १९ की जोना चौधरी र मोरङ लेटाङ घर भई हाल काठमाडौं मनमैजु बस्ने बसमा यात्रु ल्याउने काम गर्ने ३० वर्षीय रितेश बस्नेत, मोरङ बेलाबारी घर भई हाल काठमाडौँ बस्ने बसपार्क काउन्टरमा काम गर्ने ३० वर्षीय यमन राई रहेका छन् ।

उनीहरूको साथबाट मोबाइल, चार्जर, पावरबैंक लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २) चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै उक्त घटनामा संलग्न थप एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको साथै अन्य संलग्न व्यक्तिहरुको खोजतलास भई रहेको पनि प्रहरीले जनाएको छ ।

https://u16p.com/yfdurvidec