खाना पकाउन प्रयोग हुने लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यास पड्किएका घटना बढ्न थालेका छन् ।  ग्यास लिक भएपछि सावधानी नअपनाउँदा आगलागी हुन्छ, जसले गर्दा जिउधनकाे क्षति हुनसक्छ ।

आज हामी कोठामा एलपी ग्यास लिक हुँदा विद्युतीय उपकरण प्रयोग गर्न, लाइटकाे स्वीच अफ/अन किन गर्न हुँदैन भन्ने विषयमा जानकारी दिँदैछौं ।

नेसनल ग्यास ग्रिडका अनुसार ग्यास लिक हुँदा कोठामा विद्युतीय उपकरण वा सामग्री, लाइटको स्विच अन/अफ गर्ने वा क्यान्डल लाइट बाल्न हुँदैन । यदि ग्यास लिक भएको कोठामा विद्युतीय उपकरण प्रयोग गरियो वा विद्युतको लाइट अन/अफ गर्‍याे भने आगो लाग्ने सम्भावना बढी हुन्छ । यसकारण हतार हतार स्वीच अन गर्ने वा स्वीच अन भइरहेकाे अवस्थामा स्वीच अफ गर्ने कामले प्रतिकूल घटना सिर्जना गर्नसक्छ ।

संयुक्त राज्य अमेरिकाको उपभोक्ता उत्पादन सुरक्षा आयोग (सीपीएससी)ले पनि एलपी ग्यास लिक हुँदा विद्युतीय उपकरण प्रयोग गर्नु वा लाइट अन/अफ गर्नु जोखिमयुक्त हुने गरेको उल्लेख गरेको छ ।

एलपी ग्यास अति नै ज्वलनशील पदार्थ हो । कोठामा एलपी ग्यास लिक भएको छ र विद्युतीय उपकरण अन/अफ गरियो भने त्यस्तो बेला करेन्ट प्रवाह अवरुद्ध हुन्छ । यस्तोमा बिजुलीको झिल्का बाहिर आउँछ । र, उक्त बिजुलीको झिल्काले ग्याससँग रासायनिक प्रतिक्रिया गर्छ, जसले गर्दा कोठामा आगो लाग्छ ।

त्यस्तै ग्यास लिक भएको कोठामा लाइट बाल्दा पनि दुई ओटा जोखिम हुन्छ । एउटा लाइट अन वा अफ गर्दा एक्कासी बढी भोल्टेज प्रवाह हुँदा बिजुलीको झिल्का निस्किन्छ । त्यसले ग्याससँग रासायनिक प्रतिक्रिया गर्दा आगो लाग्न सक्छ ।

अर्को भनेको बल्ब तातियो भने त्यसबाट पनि झिल्का निस्किन्छ । उक्त झिल्काले ग्याससँग रासायनिक प्रतिक्रिया गर्दा आगो लाग्ने सम्भावना धेरै रहन्छ । त्यसैले कोठामा ग्यास लिक भएको छ भने विद्युतीय उपकरण अन/अफ नगर्न विज्ञहरूको सुझाव  छ ।

त्यसबाहेक पनि कोठामा एलपी ग्यास लिक भएको छ भने त्यसले विद्युतीय उपकरणलाई बिगार्न सक्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् । 

विशेषगरी विद्युतीय उपकरणमा हुने धातु र एलपी ग्यासबीच हुने रासायनिक प्रतिक्रियाका कारण उक्त धातुमा खिया लाग्ने वा बिग्रिने समस्या हुन्छ । त्यसैले समय-समयमा विद्युतीय उपकरण, एलपीजी सिलिन्डर जाँच गरिरहनु पर्छ । एलपी ग्यास लिक हुँदा दुर्घटना हुने कुरा कोठाको वातावरणले पनि निर्धारण गर्छ ।

https://u16p.com/ory8w9kxi7