अन्ततः माइक्रोसफ्टको सर्च इन्जिनमा पनि च्याटबट उपलब्ध हुन थालेको छ । कम्पनीले खुलाएको वेटलिस्टमा आवेदन दिनेहरूले सिस्टम च्याटबट प्रयोग गर्न सक्नेछन् ।

च्याटजीपीटीको लोकप्रियतासँगै विभिन्न सर्च इन्जिन च्याटबटको पछि परेका थिए । गत हप्ता घोषणा गरिएको च्याटबट केही सीमित प्रयोगकर्ताले प्रयोग गर्न थालेका छन् । कम्पनीले बिङको होमपेजमा च्याटको अप्सन समावेश गरेसँगै वेटलिस्ट खुलाएको थियो ।

उक्त वेटलिस्टमा सहभागी हुनेहरूले 'च्याट' एक्सेस पाइरहेका छन् । माइक्रोसफ्टको च्याटबट च्याटजीपीटीभन्दा फरक छ । च्याटजीपीटीकै शैलीको उक्त च्याटबटले पछिल्ला सूचनाहरू उपलब्ध गराउँछ । साथै हामीले सोधेका कुनै पनि प्रश्नको जवाफका लागि स्रोत पनि उल्लेख गरेको पाइन्छ ।

यसरी प्रयोगकर्तालाई सूचनाको स्रोतसँग जोड्ने भएकाले धेरै प्रयोगकर्ताले उपयोगी टुलका रूपमा हेरेका छन् । डेटाका सन्दर्भमा भने माइक्रोसफ्टको यो टुल हरेक समय अपडेटेड रहन्छ । यसलाई प्रयोग गरि हेर्दा टुल आकर्षक नै लाग्छ । तर, च्याटजीपीटीभन्दा कमजोर पक्ष के छ भने यसले सबै जानकारी विस्तृतमा दिँदैन ।

सोझै सूचनाको वा समाचारको स्रोतसँग जोड्न बिङले यो टुल समावेश गरेको अनुमान लगाउन सकिन्छ । साथै इन्टरनेटबाट प्राप्त हरेक सूचनामा लिङ्क समावेश गरिएको छ । जसका माध्यमबाट कुनै पनि डेटा सही हो वा होइन भन्ने तत्कालै छुट्याउन सकिन्छ ।

यदि तपाईँले एउटा केही प्रश्न वा जिज्ञासा राख्नुभयो भने त्यससँग सम्बन्धित प्रश्न सुझावका रूपमा देख्न सकिन्छ ।  टुल नयाँ भएकाले केही डेटा गलत हुनसक्ने कम्पनीले जनाएको छ । यद्यपि बिङमा भएको च्याट फिचर प्रयोग गर्दा साधारणतः अधिकांश जवाफ सही पाउन सकिन्छ ।

बिङमा भएको च्याटबट प्रयोग गर्नका लागि माइक्रोसफ्ट अकाउन्ट आवश्यक पछ । माइक्रोसफ्टको एज ब्राउजर वा कुनै पनि ब्राउजरमा गई बिङ सर्च गर्दा उक्त सर्च इन्जिनमा गइ च्याटबट प्रयोग गर्न सकिन्छ । अहिलेलाई सीमित प्रयोगकर्ताका लागि उपलब्ध भएकाले पुनः वेटलिस्टमा बस्नुपर्ने अवस्था आउन सक्छ ।

https://u16p.com/ci3yfc7bvv