त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागन कार्यालयकाे सर्भर डाउन भएकाे छ । सर्भर डाउन हुँदा सयाैं यात्रुहरू अलपत्र परेका छन् । साेमबार मध्यान्हदेखि सर्भरमा समस्या भएपछि भिसा जारी गर्न नसक्दा यात्रुहरू अलपत्र परेका हुन् ।

विमानस्थलको अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले डेढ घण्टादेखि सफ्टवेयरले काम नगर्दा भिसा जारी गर्ने काममा समस्या भएको बताए । “सर्भर डाउन भएको डेढ घण्टा भइसकेको छ । अहिलेसम्म पनि समाधान हुन सकेको छैन,” उनले टेकपानासँग भने, “नेपाली र भारतीय यात्रुको काम हामीले म्यानुअल्ली गरिरहेका छौं । विदेशीको हकमा भने काम रोकिएको छ ।”

विदेशी यात्रुको काम भने सफ्टवेयर मार्फत नै गर्नुपर्ने भएका कारण उनीहरूको काम रोकिएको उनको भनाइ छ । प्राविधिकहरूले समस्या समाधानको लागि काम गरिरहेको भएपनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।

पछिल्लो समयमा विमानस्थलमा सर्भर डाउन हुने समस्या आइरहेको छ । यस्तो संवेदनशील स्थानमा पनि सरकारले तदारुक्ताका साथ काम गर्न नसक्दा यात्रुहरू मारमा परिरहेका छन् ।

https://u16p.com/jfyh52iw6v