शुक्रबार मेटा कम्पनीका मालिक मार्क जुकरबर्गले 'भेटा भेरिफाइड' नामको सःशुल्क फिचर ल्याउने घोषणा गरे । यसअन्तर्गत आईओएस प्रयोगकर्ताले मासिक १५ अमेरिकी डलर र वेब प्रयोगकर्ताले १२ अमेरिकी डलर तिरेको खण्डमा आफ्नो फेसबुक वा इन्स्टाग्राम अकाउन्टमा ब्लु टिक प्रयोग गर्न पाउनेछन् । त्यसबाहेक पनि यस्तो सेवा लिने प्रयोगकर्ताको पोस्ट रिच बढ्ने कम्पनीले बताएको छ ।

अहिलेसम्म साधारण तरिकाले भेरिफाइड भएका अकाउन्टलाई केही प्रभाव पार्ने छैन । तर, फलोअर धेरै बनाउन चाहने प्रयोगकर्ताका लागि यो फिचर उपयुक्त हुने कम्पनीको भनाइ छ । सुरुवाती चरणमा कम्पनीले याे फिचर अस्ट्रेलिया र न्युजिल्यान्डमा ल्याउन लागेको बताइएको छ ।

यो फिचर परिमार्जन गरी ट्वीटरले गत नोभेम्बरमा नै सार्वजनिक गरेको थियो । ट्वीटरका मालिक एलन मस्कले यसअघि नै मेटा पनि ट्वीटरमा जाने भविष्यवाणी गरेका थिए । यो फिचर प्रयोग गर्न प्रयोगकर्तालाई कुनै बाध्यता छैन । आफ्नो चाहना अनुसार जोसुकैले पनि शुल्क तिरेर ब्लु टिक प्रयोग गर्नुका साथै अन्य सुविधा लिन सक्छन् ।

तर, शुल्क तिर्ने प्रयोगकर्तालाई बढी प्राथमिकता दिनुले यस्ता सामाजिक सञ्जाल पैसामा बढी केन्द्रित हुने गरेको भान हुन्छ । शुल्क तिरेर मात्र प्रयोग गर्न सकिने फिचर प्रयोग गर्दा यस्ता प्लेटफर्म वाक स्वतन्त्रतामा कम र पैसामा बढी झुकेको हुन कि भन्ने विज्ञको अनुमान छ ।

डिजिटल विज्ञापनमा कमी

विज्ञापनदाताले आर्थिक मन्दीको डरले नाटकीय रूपमा खर्च घटाउँदा फेसबुक र ट्वीटरजस्ता कम्पनीहरूको आय स्ट्रिमको ९० प्रतिशतभन्दा बढी विज्ञापन रेभेन्युमा गिरावट आएको छ ।

मेटाको सन्दर्भमा, एप्पलले अप्रिल २०२१ मा आफ्नो गोपनीयता नीति परिवर्तन गरी प्रयोगकर्ताको डेटाको एक्सेस माग्नुपर्ने नीति ल्यायो, जसले गर्दा आईओएस प्रयोगकर्ताले फेसबुक तथा इन्स्टाग्रामलाई आफ्नो डेटामाथि पहुँच दिनै छोडे । यसले गर्दा सन् २०२२ मा कम्पनीले विज्ञापन आम्दानीबाट १० अर्ब अमेरिकी डलर बढी गुमाएको छ ।  

यसै बीचमा ट्वीटरको विज्ञापन आम्दानीमा पनि ४० प्रतिशत गिरावट आएको थियो । यसो त ट्वीटरले विज्ञापनदाता गुमाउनुको अर्को कारण हो कम्पनी एलन मस्कको नेतृत्वमा हुनु । कम्पनी एलन मस्कको नेतृत्वमा गएपछि विज्ञापनदाता ट्वीटरबाट टाढिन थाले । आम्दानी घट्दै गएछपछि मस्कले आम्दानी गर्न नयाँ रणनीति अपनाएका थिए ।

ट्वीटर र मेटाले सँगसँगै जस्तो ब्लु टिक भेरिफिकेसन सेवा ल्याउनु संयोग होइन । डिजिटल विज्ञापनको माग घट्दै जाँदा आम्दानीको विकल्पमा कम्पनीले यस्ता फिचर ल्याएका हुन् ।

मेटाका अनुसार कम्पनीको नयाँ सशुल्क फिचर विशेषगरी कन्टेन्ट क्रियटरका लागि ल्याइएको हो । तर, अचम्मको कुरा के हो भने फेसबुकका अधिकांश प्रयोगकर्ता कुनै न कुनै रूपमा कन्टेन्ट क्रियटर नै हुन् । आफ्नो फोटो, भिडिओ वा अन्य सामग्री शेयर गर्न नै सबैजसोले फेसबुक प्रयोग गरेका हुन्छन् ।

यसको अर्थ कम्पनीले अप्रत्यक्ष रूपमा यो फिचर सबैका लागि ल्याइएको सङ्केत गरेको छ । कम्पनीले क्रियटरको रिच बढाउँदा उनीहरूको पोस्टमा इन्गेजमेन्ट बढ्दै जान्छ र त्यसबाट विज्ञापनदाता आकर्षित हुन्छन् । यसरी विज्ञापनदाता आकर्षित हुँदा कम्पनी विज्ञापनबाट थप आम्दानी गर्न सक्छ ।

 बिनाकामका लागि पैसा असुल्ने बाटो

सामाजिक सञ्जालमा भेरिफिकेसन सेवा ठूला कम्पनी तथा सेलिब्रेटीका लागि मात्र आवश्यकताको विषय हो । कुनै कम्पनी वा सेलिब्रेटीको नामका नक्कली अकाउन्टबाट हुने दुष्प्रचार कम गर्न आधिकारिक व्यक्ति वा कम्पनीलाई यस्ता प्रमाणीकरण चिह्न आवश्यक पर्छ ।

तर, यसैमा सब्स्क्रिप्सन मोडेल लागू गर्नाले शुल्क तिर्न नसक्ने प्रयोगकर्तालाई मारमा पारेको छ, जसले गर्दा शुल्क तिर्न नसक्ने वैध प्रयोगकर्ता यस्ता प्लेटफर्मबाट टाढिने जोखिम बढी हुन्छ ।

यसरी शुल्क तिरेर भेरिफिकेसन ब्याच उपलब्ध गराउनुले केकस्ता समस्या वा चुनौती निम्त्याउन सक्छ भन्ने कुरा पनि छर्लङ्ग पारेको छ । कतिपय सेलिब्रेटी वा कम्पनीले पनि सामाजिक सञ्जालका अकाउन्ट भेरिफाइ गर्न खोज्दा भेरिफाइ गर्न सकिरहेका हुँदैनन् । तर, शुल्क तिरेकै भरमा भेरिफाइड मार्क पाउनुले धेरै समस्या निम्त्याउन सक्छ ।

 ट्वीटरका पूर्व सीईओ ज्याक डोर्सीले सन् २०१७ मै यो प्रणाली सही नभएको भन्दै अस्वीकार गरेका थिए । यस्तो प्रणालीले प्रयोगकर्ताको आवाज दबाउने उनको राय थियो ।

तर, सशुल्क रूपमा भेरिफिकेसन सेवा उपलब्ध गराउँदा आधिकारिक व्यक्ति वा कम्पनीलाई निःशुल्क उक्त सेवा दिने वा नदिने भन्ने त्यस्ता सामाजिक सञ्जालमा भर पर्छ । शुल्क तिर्न नसक्दा प्रयोगकर्ता फेसबुकको आधारभूत सेवाबाट वञ्चित हुने निश्चित छ ।

अमेरिकाका ०.२ प्रतिशत ट्वीटर प्रयोगकर्ताले मात्र जनवरीको अन्तसम्म ट्वीटर ब्लुको सेवा लिएका छन् । यसले केही प्रयोगकर्ता मात्र यस्तो सेवामा आकर्षित भएको सङ्केत दिएको छ ।

यसरी प्रयोगकर्ताले निःशुल्क पाउनुपर्ने सुविधालाई शुल्कसँग जोड्दा यस्ता प्लेटफर्म वाक स्वतन्त्रतामा कम र पैसामा बढी केन्द्रित भएको देख्न सकिन्छ ।

https://u16p.com/bticalinod