माटोले पोतेको घर । भित्र छिर्ने बित्तिकै सानो भान्सा, त्यसैसँग जोडिएको सुत्ने कोठा र दुई टेबल । यो टेबल कुनै समय गीताकुमारी राईको ‘सम्पन्नता’ को प्रतीक थियो । ‘होटल थियो, त्यसकै टेबल हुन्’— आफ्नै घरमा चलाएको होटल गीताका लागि सम्झना भइसक्यो ।

माटो र काठले बनेको घरलाई मधेशमा कम्पावाल घर भन्छन् । कम्पावाल घरको छानामा छाएको जस्ताका प्वालबाट छिरेका घामका किरणले उनको यो सानो संसारमा उज्यालो छर्छ । नभए त उनको संसारमा जता हेरे पनि अँध्यारो नै अँध्यारो छ ।

किनकि गीताकुमारी ऋणको दलदलमा यसरी फसेकी छिन् कि घरभित्रबाट होटल अहिले सडक किनारमा आइसक्यो । ‘पहिला घरभित्रै होटल थियो । अहिले घरभित्र राख्ने सरसामान नभएपछि रोडमा बेच्न थालें’ हरेक साँझ गीता घरसँगै जोडिएको सडक किनारमा चुलो बालेर पकौडा, समोसा बेच्छिन् ।

उनको घरमा कुनै समय होटल थियो भनेर देखाउने होर्डिङ बोर्ड भने अझै झुण्डिएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका–६ राईटोलकी गीताकुमारीका अनुसार लघुवित्त र मिटर ब्याजको ऋणले उनलाई सडकमा ल्याइपुर्‍याएको हो ।

लघुवित्त समूहमा जोडिएकी उनले आफू सदस्य रहेको नेरुडे लघुवित्त महिला समूहकी संयोजक चिना कोइराला श्रेष्ठसँग पटक–पटक गरेर २ लाख ७५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । चिना तिनै महिला हुन्, जसविरुद्ध रौतहट जिल्ला प्रशासन कार्यालयमा १ करोड २८ लाख रुपैयाँ मिटर ब्याजमा लगाएको भन्दै उजुरी परेको छ । यही ऋणले उनलाई लघुवित्तको ऋणी बनायो ।

२ लाख ७५ हजार रुपैयाँ तिर्न भनेर उनले नेरुडे लघुवित्तबाट १ लाख २० हजार र मेरो माइक्रो फाइनान्सबाट १ लाख ६० हजार रुपैयाँ ऋण निकालिन् । ‘बैंक (लघुवित्त)बाट निकालेको पैसा चिनालाई दिएँ’ सम्झना भइसकेको होटलको र्‍याकबाट रकम बुझाएको हिसाबको कागजपत्र निकालिन् गीताले । ‘तर उसको ब्याज सकिएन । हरेक दिन साँझ आएर दिनभर पसलमा भएको कमाइ लिएर जान थालिन्’, गीताकुमारीका दुर्दिन सुरु भए ।

चिनाले हरेक दिन आएर थर्काउँदै पैसा लैजान थालेपछि उनका श्रीमान् बलबहादुर राईले हिसाब–किताब मागे । लेखपढ गर्न नजान्ने गीताले साहुले भनेको हरेक कागजमा औंठाछाप लगाएकी थिइन् । ‘कागजमा त १५ लाख लिएको लेखेका रहेछन्’ १५ लाख रुपैयाँको कागज छ भन्ने थाहा पाएपछि गीताको होशहवास उड्यो, ‘अहिले त्यही १५ लाखको मुद्दा चलेको छ ममाथि ।’

गीता हात जोडछिन्, ‘२ लाख ७५ हजार मात्रै लिएकी थिएँ । पापीहरूले यस्तो गर्दिए ।
 ’https://unelma.io/p7WYf