पैदल यात्रीको सहजताका लागि काठमाडौं महानगरपालिकाले बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान गर्ने भएकाे छ । हालै महानगरले यी प्रणालीकाे परीक्षण गरेकाे छ ।

केन्द्रीय कार्यालय परिसर बागदरबारमा शुक्रबार गरिएको परीक्षणको नतिजा सकारात्मक देखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी अधिकारीले जानकारी दिए । 

बेलिकन क्रसिङ सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदलयात्रीले सडक पार गर्नुपर्‍याे भने प्रणालीमा राखिएको स्वीच थिचेपछि सवारी गुड्ने सडकतर्फ रातो बत्ती र जेब्रा क्रसिङमा हरियो बत्ती बल्छ ।

महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार बालबालिका, अशक्त तथा आपत्कालीन अवस्थामा सडक पार गर्नुपर्ने अवस्थाको सुविधाका लागि यो प्रणाली जडान गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । 

क्रसिङसँगै महानगरले स्मार्ट लाइटको पनि परीक्षण भएको छ । यो जेब्रा क्रसिङ भएको ठाउँमा सडकबत्तीमा जडान हुने प्रणाली हो । प्रणाली जडान गरिएको पोलमा संकेतसहितको बोर्ड हुन्छ । यो बोर्डतर्फ हात हल्लाएपछि बत्तीको प्रकाश थप चहकिलो हुन्छ । यसबाट पैदल यात्रीलाई सडक पार गर्न सहज हुने बताइएकाे छ ।

''बत्ती चहकिलो बलेपछि सवारीसाधनलाई सडकमा पैदलयात्री भएको थाहा पाउन सजिलो हुन्छ । अन्य समयमा सामान्य प्रकाशमा बत्ती बलिरहेको हुन्छ,'' श्रेष्ठले भने, ''विकासकर्ताको प्रणाली हेर्‍याैं । अब यसलाई पैदल यात्रीको प्रयोगका परीक्षण गर्न सहरका दुई ठाउँमा नमूना जडान गर्ने योजनामा छौँ ।''

यसपछि महानगरका सडकमा क्रमशः बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान गर्ने गरिने बताइएको छ ।

https://u16p.com/ageua3mfib