साउनदेखि माघसम्म अर्थ मन्त्रालयले निकासा गरेको रकमका आधारमा पदाधिकारीको भ्रमण खर्च र पूर्वभीआईपीको स्वास्थ्योपचारमा राज्यको करोडौं खर्च भएको देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २१ देखि २८ गतेसम्म गरेको गणतन्त्र आयसल्याण्ड भ्रमणमा १ करोड ६२ लाख ५ हजार खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रपतिको भ्रमणमा भएको खर्च परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी गरिएको छ । सो रकम पुसमा अर्थले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी गरेको हो ।

यता पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले औषधोपचार खर्च २५ लाख दिएको छ । कात्तिक ३ गतेको मन्त्रिपरिषदको बैठकले सो रकम दिने निर्णय गरेको थियो । सोहीअनुसार उनको उपचारको लागि सरकारले सहयोग गरेको हो ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ उपचारका लागि सरकारले आर्थिक सहायता दिएको अर्थ मन्त्रालयले जनाएको छ । भदौमा भएको मन्त्रिपरिषदको निर्णयअनुसार मंसिरमा खनाललाई रकम निकासा भएको हो ।

जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यिको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गर्दा १ लाख ३४ हजार खर्च भएको थियो । खड्काले भदौमा भ्रमण गरेका थिए ।

संयुक्त राष्ट्रसंघको ७७औं महासभा र नेपाल क्यानडाबीचको द्विपक्षीयय संयन्त्रको बैठकमा परराष्ट्र सचिवसहित प्रतिनिधिमण्डलको भ्रमणमा २८ लाख ९६ हजार खर्च भएको छ । सो खर्च भएको रकम अर्थले मंसिरमा परराष्ट्रमार्फत निकासा गरेको छ ।

यता तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि ज्याङसु नेपालको औपचारिक भ्रममा आउँदा नेपालको ४१ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यो खर्च भएको रकम अर्थले विनियोजन गरिसकेको जनाएको छ ।

तत्कालीन सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसहित थप दुई जना पदाधिकारीको रोमानियाको बुखारेष्टमा सन् २०२२ को सेप्टेम्बर २६ देखि अक्टोबर १४ सम्म भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ प्लेनिपोटेन्सियरी कन्फेरेन्समा सहभागी हुँदा १० लाख ७२ हजार खर्च भएको छ ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा कम्बोडियाको ४३औं एसियन अन्तरसंसदीय सम्मेलनमा भाग लिन गएको प्रतिनिधिमण्डलले ३४ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । सम्मेलन २०२२ नोभेम्बर २१ देखि २४ सम्म भएको थियो । यो रकम अर्थले संघीय संसद सचिवालयलाई माघमा निकासा गरेको जनाएको छ ।

भारतको नयाँदिल्लीमा आयोजना भएको ‘थर्ड मिनिस्टिरियल कम्फेरेन्स अन काउन्टर टेरोरिजन, नो मनी फर टेरर’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव धनराज ज्ञवालीले १ लाख २६ हजार रुपैयाँ खर्च गरेका थिए ।

https://u16p.com/lbhviecqej