एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षातको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो ।

नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइनल वर्षातले बिथोलेको थियो । नेपाल र कुवेतबीचको खेल रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो ।

यूएई र ओमानबीको सेमिफाइनल पनि वर्षातल प्रभावित भएको थियो । डीएल मेथडका आधारमा यूएईले जित हासिल गर्दै नेपालसँग फाइनल भिडन्त निश्चित भएको छ ।

 

तर, मौसमविदहरुले भोलि पनि वर्षातको भविष्यवाणी गरेका छन् । मौसमविद् शान्ति कँडेलले भोलि बिहानैदेखि काठमाडौं लगायत देशभरको मौसममा आंशिकदेखि बदली हुने बताइन् । बिहान १० बजेदेखि नै वर्षा सुरु हुन सक्ने उनको आँकलन छ ।

‘बिहानैदेखि काठमाडौंको आकाशमा बादल देखिन थाल्नेछ र १० बजेदेखि वर्षा सुरु हुन सक्छ,’ उनले भनिन् ।

बेला–बेला आकाश खुले पनि दिनभरिजसो नै वर्षाले दुख दिन सक्ने पनि कँडेलले नेपाल प्रेससँग बताएकी छन् ।

कँडेलका अनुसार देशभर अझै तीन दिन मौसममा सुधार आउने अवस्था छैन । पर्सी पनि काठमाडौं लगायत पहाडी भूभागमा वर्षा हुने सम्भावना उनले औँल्याइन् । यद्यपि, तराई भूभागको मौसममा भने पर्सिबाट केही सुधार हुँदै जाने उनको आँकलन छ ।

क्रिकेटको नियम अनुसार कुनै पनि एक दिवसीय म्याचमा निर्णय आउनका लागि पहिलो इनिङको खेल पूरा सकिएर दोस्रो इनिङको पनि कम्तीमा २० ओभर सकिनुपर्ने हुन्छ । त्यसो भयो भने डकवर्थ लुइस मेथडका आधारमा हार–जितको निर्णय हुन्छ ।

एसीसी प्रिमियर कपको फाइनलमा यदि दोस्रो इनिङको २० ओभर खेल हुन सकेन भने २ वटासम्म सुपरओभर खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ । यदि पूरा ओभर खेल भएर स्कोर बराबरी भयो भने पनि २ वटासम्म सुपरओभर हुने संघका म्यानेजर विनोद दासले बताए ।

‘हामीले पाएको गाइडलाइन अनुसार रिजल्टका निम्ति फाइनलकै दिन सबै सम्भावित अप्सनहरू हुने हो,’ उनले भने, ‘तर, म्याच अफिसियलहरुको निर्णयमा पनि भर पर्छ ।’

सुपर ओभर भनेको एक–एक ओभरको खेल हो । दुवै टिमले एक–एक ओभर ब्याटिङ गर्दा जसले धेरै रन बनाउँछ त्यही विजेता हुन्छ ।

यदि भोलि सुपरओभर पनि हुन नसकेको खण्डमा फाइनलका लागि पर्सिलाई रिजर्भ डे राखिएको छ । अर्थात् मङ्गलवार फाइनल खेल हुन सक्छ । यदि मङ्गलवार पनि पानीले बिथोल्यो भने सुपरओभरमा जान्छ । सुपर ओभर पनि हुन सकेन भने एक दिवसीय वरियतामा जुन टिम अगाडि छ, त्यही अर्को चरणका लागि छनोट हुने बताउँछन् क्यानका म्यानेजर दास ।

एक दिवसीय वरियतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छन् । त्यसैले यदि खेल हुन नसकेको खण्डमा एक दिवसीय वरियतामा अगाडि रहेका कारण नेपाल एसिया कपका लागि छनोट हुने छ ।

एसिया कपको १६ औँ संस्करण आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुँदै छ । प्रतियोगिताको सेड्यूल सार्वजनिक भइसकेको छैन । यस प्रतियोगितामा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।

एसियन क्रिकेट काउन्सिलका ५ फुल मेम्बरहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले एसियाकप खेल्नेछन् । अब एउटा टिमको टुंगो लाग्न बाँकी छ । एसियन प्रिमियर कपको फाइनल विजेताले त्यो स्थान पूरा गर्नेछ । अर्थात् नेपाल र यूएईमध्ये एउटा टिम एसिया कपका लागि छनोट हुनेछन् ।

एसिया कपमा सहभागी टिमहरू दुई वटा समूहमा खेल्ने छन् । समूह एमा भारत र पाकिस्तान छन् भने तेस्रो देशको रूपमा नेपाल वा यूएई पुग्नेछन् । समूहबीचमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

एसिया कपको अघिल्लो संस्करण श्रीलंकाले जितेको थियो । यसपालिको एसिया कपमा भारतले पाकिस्तान गएर नखेल्ने बताइरहेको छ ।

u16p.com/moc7ltyr3n