१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको भन्दै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए ।

यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनले जानकारी दिए । ‘सधैं आकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ,’ उनले भने ।

सप्तरीका तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ । यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको र धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले बताए ।